११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट पनि निगरानी गर्ने

११ असोज, काठमाडौँ । यही आउदो चाडपर्वलाई लक्षित गरी प्रहरीले काठमाडौंमा चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।

उपत्यकामा प्रहरी कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलन गर्दै दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नका लागि उपत्यकाका १६ वटा स्थानमा प्रत्येक टोलीमा १० जना रहने गरी सुरक्षाकर्मी परिचालनको योजना सार्वजनिक गरेको हो ।

त्यसअनुसार काठमाडौंमा भीडभाड हुने ठाउँमा हुनसक्ने घटनालाई न्यूनीकरण गर्नका लागि प्रहरीले ड्रोनबाट पनि निगरानी गर्ने योजना बनाएको एसएसपी बसन्त रजौरेले जानकारी दिनुभयो ।

विशेषगरी पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी, बल्खु, सुन्धारा, गोंगबु, चाबहिल लगायतका क्षेत्रमा रहेका बसपार्कहरूको निगरानी ड्रोनबाट गर्ने योजना रहेको एसएसपी रजौरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ ड्रोनबाट निगरानी गर्दा कुनै घटना हुनबाट जोगाउन तथा नियन्त्रण गर्न सकिन्छ । घटना भइहाले पनि अनुसन्धानमा समेत सहयोग हुन्छ। काठमाडौं भित्रिने नाकाहरूमा तालिम प्राप्त कुकुरसहित चेकजाँच गरिने भएको छ । कुनै ठूलो घटना हुने भएमा ३ वटा टोली भने स्ट्यान्डबाइ रहनेछ ।’

क्यामरासहित बोकेको इ(क्युआरटी ७६ वटा सवारी गस्ती रहनेछ भने २४ वटा मोबाइल गस्ती रहने प्रहरीले जनाएको छ।

जसको कमाण्ड प्रहरी नायव उपरीक्षक (डीएसपी) ले गर्ने रजौरेले बताउनुभयो ।

त्यसैगरी, पैदल गस्तीलाई पनि दुई वटा वर्गीकरण गरि दुई वटा लामो रूटहरूमा तीन दिने र छोटो दुरीका ४२ वटा रूटमा एक दिने गस्ती रहने छन् भने सूचना संकलन गर्न ३८ वटा टोली सादा पोशाकमा खटिनेछन् र खोज तलासका लागि २८ वटा र २२ वटा एम्बुस टोली रहने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १५:२५