१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

सरकारी गाडी चढेर ससुराली जान रोक, बिदाको दिनमा सवारी चलाए कारबाही


६ चैत, काठमाडौँ । विदाको दिन सरकारी सवारी चढेर ससुराली जाने र घुम्न जानेहरुलाई समस्या हुने भएको छ । गृह मन्त्रालयले सरकारी गाडीको दुरुपयोग रोक्न सरकारी सवारी व्यक्तिगत प्रयोजनमा रोक लगाउने निर्णय गरेको हो । सर्वजनिक विदाको दिनमा सरकारी गाडीको प्रयोग आफन्तको ओसारपसरामा व्यपक रुपमा प्रयोग हुने गरेको छ ।

गृहमन्त्रालयको यो निर्णयसँगै सार्वजनिक विदाको दिनमा सवारीको दुरुपयोग गर्नेहरु कारबाहीमा पर्ने भएका छन । सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले ०१–४२११२०८ र ०१–४२११२१४ नं मा जुनसुकै समयमा सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना एवं जानकारी उपलब्ध गराई दुरुपयोग गर्ने कार्य रोक्ने अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ ।

सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ ।

तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएकामा हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायबाट सवारी साधनको दुरुपयोग भएको गुनासो आएको जनाउँदै गृह मन्त्रालयले तत्कालै नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको जनाएको छ ।

 

गृह मन्त्रालयबाट जारी गरिएको सूचनामा भनिएको छ, “कतिपय सरकारी निकायले सवारी साधनलाई रातो नम्बर प्लेटमा यथावत वा परिवर्तन गरी आफूखुशी प्रयोग गर्ने गरेको, सार्वजनिक बिदाका दिनमा कार्यालयको कामबाहेक अन्य प्रयोजनमा समेत प्रयोग गरी दुरुपयोग भए गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ०८:१२