२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

५९ अङ्कले घट्यो सेयर बजार, ५ अर्ब ६६ करोडको बारोबार

७ असोज, काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो ।

आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २७, विकास बैंक दुई दशमलव ४६, होटल तथा पर्यटन तीन दशमलव ३४, जलविद्युत् दुई दशमलव ८९ र लगानी समूह दुई दशमलव ७३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा समूह दुई दशमलव ३५, उत्पादन तथा प्रशोधन एक दशमलव ८१, लघुवित्त दुई दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ४८, निर्जीवन बीमा दुई दशमलव ६९, व्यापार तीन दशमलव ९३ र अन्य समूह दुई दशमलव २२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा दुई सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८४ प्रतिशतले बढेको छ । चारवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २१ करोड १३ लाख ४२ हजार सात सय ३२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर पाँच लाख कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : 16:38