५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बालेनसँग एमालेले शब्दयुद्ध गर्न जरुरी छैनः शेरबहादुर तामाङ

५ असोज, काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनसँग एमालेले शब्दयुद्ध गर्न जरुरी नरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा भएको एक अन्तरक्रियामा उहाँले अहिले काठमाडौंका मेयर बालेन्द्र शाह र एमालेको सिँगो पँक्तिबीच भैरहेको जुहारी आफूलाई निको नलागेको बताउनुभयो । उहाँले  शब्द युद्धमा भन्दा काममा प्रतिष्पर्धा गर्न दुवै पक्षलाई सुझाव दिनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएको तामाङले धरहराको सम्पूर्ण सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘काम गरौं । एमालेले पनि काम गर्नुपर्छ । बालेनले पनि काम गर्नुपर्छ । शब्दयुद्ध गर्न जरुरी छैन् । एमालेका साथीहरुले शब्दयुद्ध चलाउन जरुरी छैन् । काम गरेर जित्नुहोस । धरहराको सम्पूर्ण व्यवस्थापन महानगरलाई हस्तान्तरण गरौं । राजधानी सबै नेपाली जनताको हो । कसैसँग टक्कर गर्ने नाममा राजधानीवासीलाई अहित हुने काम कसैले नगरौं । एमालेले पनि गर्दैन् । एमाले नेतृत्वको सरकारले पनि नगरौं । भिड्ने काम नगरौं । बरु काममै भिडौं । धरहराको सिंगो सञ्चालनको काम महानगरलाई जिम्मा लगाऔं ।’

उहाँले भ्रष्टाचार निवारणको लागि आफूले सबैको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव कानूनमन्त्रीको जिम्मेवारीमा हुँदाखेरि राखेको पनि स्मरण गराउनुभयो । उहाँले भ्रष्टाचारको कुनै हदम्याद नहुने भन्दै अहिले सरकारले पनि त्यहीअनुसार कानून बनाएकोमा धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार १७:३९