४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अमेरिका पलायन हुनेभयो धुर्मुस सुन्तलीको जोडी

४ असोज, काठमाडौँ । चन्दा उठाएर समाजसेवामा स्थापित भएका कलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको जोडी अमेरिका पलायन हुने भएको छ । धुर्मुस सुन्तली फाण्डेसन नै खोलेर समाजसेवाका नाममा अनेक प्रयास गरेको जोडी अन्ततः अमेरिका पलायनको बाटोमा पुगेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा असफल भएपछि ऋण तिर्नका लागि रोइकराइ गरेर हरागुहार गरिरहेको जोडीको केही दिनअघि नेपालस्थित अमेरिकी दूतावासमा भएको भिसा अन्तरवार्ता सफल भएको हो । स्रोतका अनुसार कुञ्जना घिमिरेले ईबीवान भिसाका लागि आवेदन दिनुभएको थियो ।

dainiki.com

धेरै नेपाली कलाकार र पत्रकारहरूले यही भिसामा गएर अमेरिकामा बसोबास गरिरहेका छन । यो भिसा यहाँ अन्तरवार्ता सफल भएर अमेरिका प्रवेश गर्ने बित्तिकै ग्रिनकार्ड लिन मिल्ने प्रकृतिको हो । सिताराम कट्टेल पछिल्लो समय पनि रंगशालाको भुक्तानीका लागि भन्दै पैसा तिर्नुपर्ने व्यापारी बोकेर सिंहदरबार धाउँदै आउनुभएको थियो ।

रंगशालाको हिसाब भद्रगोल भएपछि सरकारले आफैँ बनाउने निर्णय गर्दै अहिलेसम्म लागेको खर्च मध्येबाट सरकारले १२ करोड तिर्ने निर्णय गरेको थियो । २०८० सालको वैशाखमा बसेको मन्त्रिपरिषद्ले फाउण्डेसनले मागेको १६ करोड मध्ये १२ करोड रूपैयाँ तिरिदिने गरी निर्णय गरेको थियो ।

सरकारले लागत र ऋणको हिसाब निकाल्नका लागि गठन गरेको छानविन समितिले १२ करोड रूपैयाँको मात्र हिसाब निकालेपछि धुर्मुस सुन्तली तनावमा पर्नुभएको थियो । उहाँहरूले १६ करोड खर्च भएको दाबी गर्नुभएको थियो । सरकारले दिने भनेको १२ करोड रूपैयाँ पनि अझै भुक्तानी हुन नसेकको स्रोतले जनाएको छ ।

चन्दा उठाएर समाजसेवा गरिरहेको भए पनि समाजसेवाबाटै टाटपल्टेको जोडीको रूपमा धुर्मुस सुन्तलीको चर्चा हुने गरेको छ । उहाँहरूले नेपालमा भविष्य नदेख्नुको कारण टाटपल्टिनुनै हो वा अन्य के हो भोलिका दिनमा सम्भवत उहाँहरूले नै बताउँदै जानुहुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार २०:५७