४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका उड्दै, यी हुन भ्रमण टोलीका सदस्य

४ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

उहाँले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । साथै उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ ।

फाइल तस्बिरः दैनिकी

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने कार्यतालिका छ ।

उहाँले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीसहित प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव प्रथमा उप्रेती, अधिकृतद्धय भुवन ओझा, प्रविण भट्टराई रहनुभएको छ ।

यस्तै भ्रमणदलमा प्रधानमन्त्रीको सुरक्षाकर्मी नेपाली सेनाका प्रमुख सेनानी दीवाकर खड्का, नेपाल प्रहरीका डिएसपी नविन कार्की, सञ्चारकर्मीमा प्रधानमन्त्रीका समाचार संयोजक समेत रहनु भएका राससका वरिष्ठ संवाददाता संयोजक प्रकाश सिलवाल, प्रधानमन्त्रीको निजी फोटोग्राफर दिनेश भण्डारी र नेपाल टेलिभिजनका क्यामरा पर्सन अनन्त चालिसे रहनुभएको छ । राष्ट्रसंघको महासभा यही भदौ २५ देखि असोज १२ गतेसम्म न्यूयोर्कमा हुँदैछ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार ०८:३८