१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अधिकारको उच्चतम उपभोग गर्दै समुन्नत नेपाल निर्माणमा लाग्न प्रमुख मियाँकाे आग्रह

३ असोज, कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले मुलुक दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस् भनी शुभकामना दिनुभएको छ ।

उहाँले संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै जनताको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालमा संविधान जारी भएकाले संविधानले दिएका अधिकारको उच्चतम उपभोग गर्दै समुन्नत नेपाल निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

‘नेपाली जनताले पटक–पटक गर्दै आएको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप ऐतिहासिक संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यो ऐतिहासिक दिवसले सुदूरपश्चिम प्रदेश दिगो शान्ति सुशासन र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।”

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १२:०५