३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

१७ फाइनान्स कम्पनीको रिपोर्टः १२ वटाले नाफा कमाउँदा यी ५ फाइनान्स घाटामा

१ असोज, काठमाडौँ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये १२ वटा कम्पनीले साउन महिनामा नाफा कमाएका छन् । यस्तै बाँकी ५ फाइनान्सले घाटा ब्यहोरेका छन् ।

नाफा कमाएका १२ फाइनान्स कम्पनी

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा प्रोगेसिभ फाइनान्स सर्वाधिक नाफा कमाउने फाइनान्स कम्पनी बन्न सफल भएको छ । फाइनान्सले ८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरी सर्वाधिक नाफा कमाउने कम्पनी बनेको हो ।

त्यस्तै, दोस्रो धेरै नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । आइसीएफसीले २ करोड ८५ लाख नाफा आर्जन गरेको छ । यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले २ करोड ५९ लाख नाफा कमाएको छ ।

यसैगरी, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख रुपैयाँ नाफा कमाएकाे छ । यस्तै, मञ्जुश्री फाइनान्सले १ करोड ४५ लाख रुपैयाँ नाफा कमाएकाे छ भने गुडविल फाइनान्सले १ करोड २८ लाख रुपैयाँ कमाएकाे छ ।

यसैगरी, रिलायन्स फाइनान्सले १ करोड २८ लाख, जानकी फाइनान्सले १ करोड ७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सले ९८ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सले ६५ लाख रुपैयाँ, मल्टीपर्पस फाइनान्सले ६३ लाख रुपैयाँ र नेपाल फाइनान्सले १५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

घाटा व्यहोरेका ५ फाइनान्स कम्पनी

यस्तै, ५ फाइनान्स कम्पनीले घाटा व्यहोरेका छन् । जसमा सर्वाधिक घाटामा समृद्धि फाइनान्स रहेको छ । समृद्धि फाइनान्स ८ करोड ६९ लाख रुपैयाँ घाटामा रहेको छ । त्यस्तै, पोखरा फाइनान्स २६ लाख रुपैयाँ, बेष्ट फाइनान्स १२ लाख रुपैयाँ, क्यापिटल मर्चेन्ट र नेपाल सेयर मार्केट ८–८ लाख रुपैयाँ घाटामा रहेका हुन् ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १५:३७