३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एनआरएनएका उपाध्यक्षले बिरामीको नाममा चन्दा उठाएर झ्वाम पारे, कारबाहीको माग

३१ भदाै, लण्डन । एनआरएनए बेलायतका पूर्व उपाध्यक्ष सुनिलबाबु खड्काले बिरामीको नाममा चन्दा उठाएर झ्वाम पारेका छन । सुनिलबाबुले स्वर्गीय सदीक्षा तामाङको नाममा उठेको पैसा हिनामिना गरेपछि छानविनका लागि एउटा समिति नै गठन भएको छ ।

बेलायत पढ्न आएको केही महिनामै बिरामी भएर गत वर्ष निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि संकलित चन्दा रकम हिनामिना भएको हो । तत्कालीन उपाध्यक्ष सुनिलबाबु खड्काले चन्दाबाट उठाइएको १० हजार ५४५ पाउन्ड ३६ पेन्स पीडित परिवारलाई नदिइ हिनामिना गरेपछि एनआरएनए यूकेले छानवीन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।

आइतबार संघको फार्नबरोस्थित आफ्नै कार्यालयमा बसेको पूर्ण बैठकले डा. भीम पुनको प्रमुख संयोजकत्वमा भरत रोका क्षेत्री सदस्य सचिव र ओमप्रसाद थापा काउचा सदस्य रहेको एक समिति गठन गरेको हो । उक्त समितिलाई सत्थ तथ्य छानवीन गरि एक प्रतिवेदन पेश गर्न समय दिइएको छ । प्रतिवेदनकै आधारमा कानुनी उपचार खोजिने एनआरएनए यूकेले बताएको छ ।

एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले गत जुन २०२४ दोस्रो हप्ता सुनिलबाबु खड्कासँग भेट गरेर कुराकानी हुँदा खड्काले एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरलाई बैंकमा भेट्न अनुरोध गर्दै बैंकले चन्दा रकम निकासा नगरे म आँफै व्यक्तिगत रूपमा भएपनि रकम दिन्छु भन्ने आश्वासन दिएका थिए।

गाहा मगरले महासचिव प्रमिलासहित खड्कासँग सोमबार, जुन २२, २०२४ मा एचएसबीसी बैंक, क्याम्बर्ली शाखामा भेट पनि गरे । विभिन्न प्रयास बावजुद बैंकले संकलित कोष निकासा गरेन । किनकी सुनिलबाबु खड्का अहिले एनआरएनए यूकेको कुनै पनि आधिकारिक पदमा छैनन् । खड्कालाई स्वर्गीय सदीक्षा तामाङको नाममा दान गरिएको रकम आफ्नो भनेर दाबी गर्ने वा व्यवस्थापन गर्ने अधिकार पनि छैन ।

बैंकले होल्ड गरेको पैसा खड्काले आँफै दिन्छु भनेकोमा त्यो वाचा अहिलेसम्म पूरा गरेका छैनन् । एनआरएनए यूकेले उक्त चन्दा खड्काले आफ्नो व्यक्तिगत व्यवसाय सरे वेस्ट बाइफ्लिटमा रहेको न्यू हवेली रेस्टुरेन्टमा लगानी गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

यसैलाई मध्यनजर गर्दै एनआरएनए यूकेले सबै दाता तथा सहयोगीहरुको सहभागितामा न्यू हवेली रेस्टुरेन्टमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । यसका लागि सरे काउन्सिल र स्थानीय पुलिस लगायत स्थानीय अधिकारीहरूसँग प्रक्रिया सुरु भइसकेको संघको दावी छ।

एनआरएनए यूके च्यारिटी बैंक खाता अध्यक्ष गाहा मगर, उपाध्यक्ष चम्पा थापा र उपाध्यक्ष नम्रता घले गुरुङ्को नाममा छ तर सुनिल बाबु खड्काले एनआरएनए यूके च्यारिटी खातामा रहेको स्वर्गीय तामाङको नाममा दान गरिएको रकम आफ्नो भनेर दाबी गरेको हुंदा बैंकले रोकेको हो ।

सुनिलबाबु खड्कासंग कुनै कानूनी वा नैतिक अधिकार नरहेको जनाउंदै संघले खड्कालाई एनआरएनए यूके च्यारिटी खातामा रहेको स्वर्गीय सदीक्षा तामाङको नाममा दान गरिएको रकम आफ्नो भनि दावी नगर्न र तुरुन्त हस्तान्तरण गर्न पनि आह्वान गरेको छ।

एनआरएनए यूकेमा उनी अब कुनै पदमा नरहेको हुनाले उनीसँग परोपकारी कोष नियन्त्रण गर्ने वा रोक्ने कुनै कानूनी वा नैतिक अधिकार नरहेको संघले बताएको छ । खड्काको कार्यले नैतिकताको कमीलाई प्रतिबिम्बित गर्ने जनाउंदै संघले उनी एनआरएनए यूकेको अध्यक्ष कहिल्यै नरहेको पनि स्पष्ट पारेको छ।

एनआरएनए यूकेले यस मुद्दालाई पारदर्शी र सार्वजनिक रूपमा सम्बोधन गर्न दान गरिएको कोषको उचित प्रयोग सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ। एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाका बाबु कृष्ण थोकर तामाङले आफ्नी छोरीको नाममा उठाइएको पैसा बीचमै गायब हुंदा आक्रोशित भएको जनाउंदै उक्त संकलित रकम कुनै पनि हालतमा परिवारसमक्ष पठाइने बताए । ‘मरेकी एकजना नानीको नाममा पैसा उठाएर अहिले सुनिलबाबु खड्काले होल्ड गरेका छन् । हामीलाई उनले पैसा हिनामिना गरेको आशंका छ । बेलायतमा बसेर त्यस्तो अपराध गर्ने छुट कसैलाई छैन । हामी कानुनी लडाईंमा जान्छौं’, गाहामगरले चेतावनी दिए ।

आफ्नो आर्थिक अवस्था दयनीय रहेको बताउंदै सदीक्षाका बाबुले सघाउन अनुरोध भएर एनआरएनए यूके अध्यक्ष गाहामगरले चन्दा आव्हान गरेपछि हजारौं पाउण्ड स्वतस्फूर्त उठेको थियो । सदीक्षाको मृत्यु भएको गत वर्ष १० मेबाटै अभियान शुरु भएपछि स्वतस्फूर्त रुपमा १७८ जना व्यक्ति र १० वटा संस्थाले कुल १० हजार पाउन्ड, ५४५. ३६ (करिब १७ लाख रुपैयां) चन्दा प्रदान गरेका थिए । तर, उक्त पैसा सुनिलबाबुले परिवारलाई दिएनन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १८:४१