२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

रवि लामिछाने माथि सहकारी ठगीमा मुद्दा चलाउन संसद मार्फत सरकारलाई सिफारिस

३१ भदौ, काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने माथि सहकारी ठगीमा मुद्दा चलाउन संसद मार्फत सरकारलाई सिफारिस गर्ने भएको छ ।

समितिले अन्तिम प्रतिवेदन सहमतिमा टुंगोमा पुर्याउँदै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक र पूर्वगृहमन्त्री रहेका लामिछाने सहकारी ठगीमा संलग्न भएको प्रमाणसहित सिमितले मुद्दा चलाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । यद्यपी समितिको सिफारिस र निर्णय अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

बैठकमा सहभागी एक सदस्यका अनुसार रविलाई दोषी किटान गर्न माओवादीबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यको केही असहमति रहे पनि बाँकी सबै सहमतिमै टुंगिएको छ ।

सहकारी ठगेर टेलिभिजन सञ्चालन गरेका गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको प्रमाण खोज्दै आएका छन् तर छानबिन समितिले उनको दोष पुष्टि हुने दर्जनौं प्रमाण जुटाएको छ ।

थप प्रमाण समेत संसदीय छानविन विशेष समितिले प्राप्त गरेको छ । उक्त कम्पनीमा रविले हस्ताक्षर गरेका थुप्रै चेकहरू पनि साटिएको प्रमाण समितिले जुटाएको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्या थापाको सभापतित्वमा गठन भएको समितिमा सांसदहरू दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, सरिता भुसाल, लेखनाथ दाहाल, शिशिर खनाल र ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको छ ।

समितिले कुल ६५ वटा बैठक गरेर धेरैसँग छलफल र सोधपुछ गरेर सहकारीका सम्बन्धमा दीर्घकालीन महत्व राख्ने प्रतिवेदन तयार पारेको छ । समितिका सदस्यहरूले प्रतिवेदनमा हस्ताक्षर गरेर सोमबार दिउँसो १ बजेसम्ममा सभामुखलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ०९:२८