२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने, ‘हिंसा’ माथि व्याख्यात्मक टिप्पणी आउने सम्भावना

३१ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको उहाँको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघको महासभाको सहभागिता लगायतको विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बुझिएको छ ।

प्रधानमन्त्रीको सम्बोधनका लागि सहज वातावरण बनाउनका लागि सभामुख देवराज घिमिरेले दिउँसो १२ बजेर १५ मिनेटमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको उहाँको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले माओवादी हिंसा भन्ने शब्द संसदको रेकर्डबाट हटाउनुपर्ने मागसहित आन्दोलन सुरू गरेका कारण प्रधानमन्त्रीको सम्बोधन नहुन पनि सक्छ । यद्यपी सभामुखले त्यसका लागि वातावरण बनाउँदै हुनुहुन्छ ।

सम्बोधनको अवसर पाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा माथि व्याख्यात्मक टिप्पणी गर्ने सम्भावना पनि उत्तिकै छ । संसद भित्र र बाहिर यस शब्दले व्यापक चर्चा पाइरहेको छ। नेकपा एमालेका सचिव समेत रहनुभएका सांसद योगेशकुमार भट्टराईले माओवादी हिंसा भन्ने शब्द प्रयोग गरेको भनेर त्यसमाथि आपत्ति जनाउँदै माओवादीले श्रृङ्खलावद्ध रूपमा बिरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ०८:३५