२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड

३० भदौ, झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनुभएको छ ।

माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताउनुभयो । “नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राख्नुभयो ।

कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका लोकबन्धु कन्दङवासहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएको छ । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुनुहुन्छ ।

कार्यक्रममा पार्टी अध्यक्ष दाहालसहित उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १८:०३