२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सभामुखले बोलाएको बैठकमा सहमति भएन, माओवादीले पार्टीमा छलफल गर्ने

३० भदौ, काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकमा ठोस सहमति हुन नसकेको बताइएको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा ‘जनयुद्ध’का सम्बन्धमा व्यक्त भएको धारणाप्रति आफूहरुको विरोध रहेको र त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । उहाँले बैठकमा व्यक्त भएको धारणाका आधारमा आफ्नो संसदीय दलको बैठकमा छलफल गर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखका विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतकले आफूहरुले त्यस्तो केही गर्न नलागेको भन्ने जानकारी गराउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धन्यवाद दिँदै आगामी दिनमा दूराशय नहोस् भन्याैँ ।”

एपसभामुख रानाले पदीय आचरण अनुकूल काम नगरेको भन्दै सदनमा सत्तापक्षका सांसदहरुले धारणा राख्नुभएको थियो ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनको बैठकलाई सहज रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले संसद्को प्रतिष्ठा राख्ने विषयमा सबै राजनीतिक दल र सांसदहरुको कर्तव्य हुने उल्लेख गर्नुभयो । उहाँले उपसभामुखका विषयमा सत्तापक्षका बीचमा आन्तरिक रुपमा कुराकानी भएपनि कुनै निर्णय नभएको जानकारी दिनुभयो ।

अमेरिकाको प्रवेशाज्ञाका सन्दर्भमा उपसभामुखले गर्नुभएको पत्राचारका सन्दर्भमा अज्ञानताबस कमजोरी भएको विषय सबैले स्वीकार गरेको उहाँको भनाइ थियो । प्रतिनिधिसभाको अघिल्लो बैठकमा एमालेका सांसदहरुले उपसभामुखलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १४:४९