२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

बालेनप्रति ओलीको कटाक्ष-‘अहिले एउटा मनपरी बोल्ने केटो कहाँबाट निस्कियो, त्यसलाई चाहिँ चलाउनु हुँदैन है’

२९ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई मनपरी बोल्ने केटो भन्दै कटाक्ष गर्नुभएको छ । शनिवार काठमाडौँमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो-‘अहिले एउटा मनपरी बोल्ने केटो कहाँबाट निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनुहुँदैन है,  त्योसँग जनमत छ रे । देखिसक्यौँ त हामीले बोक्नेले त बोकेकै छ । बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ यतातिरबाट गोली हानेर मृग मार्‍यो भने बिरालोले मृग मार्‍यो भन्दै चलाइदिन्छ । त्यसकारण हामी भ्रमबाट मुक्त हुनुपर्छ ।’

उहाँले एमाले अहिले प्रचारमा कमजोर भएको भन्दै असन्तुष्टि पनि पोख्नुभयो । एमाले जत्रो अरू पार्टी नभएको, एमालेको जति अरूसँग कार्यकर्ता पनि नभएको र सबैको हातमा मोबाइल भए पनि पार्टीको प्रचारका लागि प्रयोग नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘हाम्रै कार्यकर्ता सबैभन्दा धेरै छन्, सबैको हातमा मोबाइल छ तर आफ्नै साथीलाई गाली गर्न मोबाइल छिटो चल्छ, विरोधीसँग लड्नका लागि मोबाइल बन्द हुन्छ । अनि हामी लड्छौँ कसरी ?’ लडाइँमा बलियोसँग हराउन टोकिदिएर पनि जित निकाल्न सकिन्छ ।

उहाँले एउटा सदस्यले अर्को एक जना व्यक्तिलाई मात्र तान्यो भने पनि ४६ लाख मत हुन सक्ने भन्दै आफना कार्यकर्ताहरुलाई भूमिका परिवर्तन गर्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार १५:३०