२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

चक्रपथ बिस्तारले गति नलिँदा स्थानीयलाई सास्ती (फोटो फिचर)

२९ भदौ, काठमाडौँ । चक्रपथअन्तर्गत कलङ्की—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्दा पनि अहिलेसम्म उक्त सडकले गति नलिँदा स्थानियले सास्ती खेप्नु परेको छ । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानलगायत अन्य काम सुरु भएपनि सडक बिस्तारको कामले गति लिन सकेको छैन ।

गत भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरूबिच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया अघि बढेको छ । ८.२ किलोमिटरको दोस्रो खण्ड बिस्तारको काम २०७५ सालमै सुरू हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा काम सुरू हुन सकेको थिएन ।

चीनसँग सन् २०१८ मा यो सडक खण्ड बिस्तारका लागि जिटुजी सम्झौता भएको थियो । तर चीन सरकारले पूर्व तयारीका काम नटुङ्ग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबिच कोरोना महामारी लगायतका कारणले गर्दा पनि काम अघि बढ्न सकेको थिएन ।

नेपालले २०७५ मै रुख कटान लगायतका अन्य काम अघि बढाएको भएपनि सडक विस्तारले भने अहिलेसम्म गति लिन नसक्दा आम नागरिकले दुःख र सास्ती व्यहोर्नु परिरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार १०:५३