२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक छ: सञ्चारमन्त्री गुरुङ

२८ भदौ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले राजनीतिमा पछिल्लो समय इमान्दार र सेवा भाव कम हुँदै गएकाले शुद्धीकरण अत्यन्त जरुरी रहेको धारणा राख्नुभयो । अस्थिर राजनीतिका कारण जनतामा उदसिनता र युवामा विद्वेष भाव देखापरेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको बताउनुभयो ।

सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने भन्दै मन्त्री गुरुङले राजनीतिलाई सही दिशामा ल्याउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

रेडियो नेपाल र बाल सङ्गठनको सहकार्यमा बालगीत प्रतियोगिता–२०८१ आयोजना गरिएको छ । कार्यक्रममा मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गर्ने सार्वजनिक सेवा प्रसारण ऐन पास भएपछि रेडियो नेपाल थप व्यवस्थित र बलियो बन्नुका साथै सेवा विस्तार हुँदै जाने जानकारी दिनुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनले लामो समयदेखि प्रत्येक वर्ष बालगीत प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । बालबालिकाको जीवनमा प्रेरणा प्रदान गर्ने र जीवनमा उत्प्रेरित गर्नेगरी अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले बालअधिकारका लागि भइरहेको लगानी अझै बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

नायब कार्यकारी निर्देशक खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनको सहकार्यमा भइरहेका यस्ता कार्यक्रमले बालबालिको भविष्य उजागर गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकासँग गरिने ससाना कुराहरुले पनि ठूलो महत्व राख्ने हुँदा बालबालिकाका भावना बुझेर उनीहरुको जीवन सार्थक बनाउनेगरी गतिविधि गर्नुपर्ने बताउनुभयो । बालगीत प्रतियोगितामा १८ वटा समूहमा बालबालिकाले भाग लिएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १५:४२