२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

ओएनएफ तास्मानियाद्धारा आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) तास्मानियाको आयोजनामा आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “आत्महत्या रोकथामबारे संवाद शुरू गरौँ, दृष्टिकोण बदलौँ” भन्ने नाराका साथ आयोजित आयोजित कार्यक्रममा नेपाली समुदायको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ता मनोवैज्ञानिक करुणा कुँवर र  Mental Health First Aid (MHFA) प्रशिक्षक भरत नेपालले सहभागीहरूलाई आत्महत्या रोकथामका विभिन्न पक्षमा ज्ञान प्रदान गरेका थिए । मनोवैज्ञानिक करुणा कुँवरले आत्महत्याका लक्षणहरू, रोकथामका उपायहरू, र मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूमा संघर्ष गरिरहेका व्यक्तिहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे महत्त्वपूर्ण जानकारी दिएकी थिईन् । उनले आत्महत्या रोकथामका लागि समाजमा रहेको कलंक हटाउन र खुला संवादको महत्त्वलाई उजागर गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएकी थिईन ।

प्रशिक्षक भरत नेपालले अस्ट्रेलियामा उपलब्ध मानसिक स्वास्थ्य सेवाहरू, हेल्पलाइनहरूको जानकारी र आत्महत्यासम्बन्धी तथ्याङ्कहरू प्रस्तुत गरेका थिए । प्रशिक्षक नेपालले अस्ट्रेलियाको नेपाली समुदायमा आत्महत्या रोकथामका लागि गरिएका प्रयासहरूबारे चर्चा गर्दै, प्राथमिक उपचार सम्बन्धी महत्त्वपूर्ण जानकारी दिएका थिए । सहभागीहरूलाई आत्महत्या रोकथाममा तत्काल के कदमहरू चाल्न सकिन्छ भन्नेबारे व्यावहारिक उपायहरू प्रदान गरिएको थियो ।

कार्यक्रमले नेपाली समुदायमा आत्महत्या रोकथामका महत्त्वपूर्ण पक्षहरूलाई उजागर गर्दै, मानसिक स्वास्थ्यको संवेदनशील विषयमा खुलेर छलफल भएको मञ्चका अध्यक्ष मुगेन गौतमले बताए ।

कार्यक्रममा अध्यक्ष गौतमले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, आत्महत्या रोकथामजस्तो संवेदनशील विषयमा सामुदायिक रूपमा छलफल गर्न र चेतना जगाउन यस्ता कार्यक्रमहरू अत्यन्तै महत्त्वपूर्ण भएको बताए । उनले साना प्रयासहरूले ठूलो प्रभाव पार्न सक्छ र कसैको जीवन बचाउन सहयोग पुग्न सक्ने बताउदै मनोवैज्ञानिक करुणा कुँवर र भरत नेपाल लाई धन्यवाद ज्ञापन गरेका थिए । प्रवासी नेपाली समुदायमा यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेकोमा उनको जोड रहेको थियो ।

कार्यक्रममा एनआरएनए, नारी निकुञ्ज, लगायतका विभिन्न संस्थाहरूका प्रतिनिधिहरूको समेत सहभागिता रहेका थियो।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार ०३:१३