२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

अष्ट्रेलियामा ईन्द्रजात्रा मनाईदै

एडिलेड । अष्ट्रेलियाको एडिलेडमा सेप्टेम्वर २१ शनिवार येँयाः पुन्ही अर्थात ईन्द्रजात्रा मनाईने भएको छ ।

गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष पन्ना काजी महर्जनले जात्राको मुख्य आकर्षण लाखे, पुलु किसी, कुमारी, सम्य ब:जि र धिमे बाजा हुने बताए । इन्द्र जात्रा अर्थात येँयाः पुन्ही विगत २०१७ देखि एडिलेडमा आयोजना हुदै आएको छ । यस बर्ष सान जर्जियो ला मोलारा कम्युनिटीहल आयोजना हुने छ ।

प्रवासमा नेपाली धर्म, संस्कृति र पहिचानलाई जिवन्त राख्न र गैर्ह नेपालीहरुलाई चिनाउन आयोजना गरिएको अध्यक्ष महर्जनले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै बताए । इन्द्र जात्रा भाद्र शुक्लपक्ष द्वादशी (यँलाथ्व द्वादशी)  देखी आश्विन कृष्णपक्ष चौथी(यँलागाः चौथी) सम्म एक हप्ता मनाइने गरिन्छ ।

किम्बदन्ती अनुसार अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रत पूरा गर्नका लागि आवश्यक पारिजातको फूल टिप्न पृथ्वीमा आएका थिए । पारिजातको फूल खोज्दै इन्द्र हालको भीमसेनस्थानभन्दा तल रहेको एउटा बँगैचामा पुगे । बहुमूल्यको पारिजातको फूल अनुमति विनै टिप्न खोजेपछि मालीले तान्त्रिक विधिमार्फत् इन्द्रलाई समातेर राजा समक्ष पेश गरे । उनलाई सबैले देख्ने चोकमा एउटा लिंगोमा बाँधेर राखिएको थियो । देवताका राजा इन्द्रले पृथ्वीवासीबाट सजाय पाइरहेका थिए ।

लामो समयसम्म फूल लिन गएको छोरा नफर्किएपछि आमा वसुन्धराले ऐेरावत हात्तीलाई छोरा खोज्न पठाइन् । इन्द्रलाई खोज्न आएको हात्तीले भिडको बीचमा अफ्ट्यारोमा परेका इन्द्रलाई भेट्यो । पछि वसुन्धरा पनि बहुलाको भेषमा आफ्नो छोरा खोज्दै आइन् र छोरालाई बाधेर राखेको देखिन् । काठमाडौं वासीको माग बमोजिम धानबाली समयमै पाक्ने बनाइदिने र मरेकालाई स्वर्ग लैजाने बाचा गरेर इन्द्रलाई छुटाएको र आमा छोरा थानकोटमा रहेको इन्द्रदहमा नुहाएर स्वर्ग गए भन्ने भनाइ छ । बसुन्धराको बाचा अनुसार त्यसपछि काठमाडौंका खेतीबारी राम्रो हुन थाले भने मरेकाहरू पनि स्वर्ग जान थाले भन्ने विश्वास छ । रथजात्राको पहिलो दिन दागिं निकाल्ने परम्परा छ । दागिं निकालिसकेपछि दिवंगतहरू स्वर्ग जान्छन् भन्ने बिश्वास रहेको छ ।

गुठीका सह सचिव सजिन प्रधानाङ्गले नेपालका अनमोल प्राचीन सम्पत्तिको रूपमा रहेका सांस्कृतिक सम्पदाहरूलाई विश्वमाझ चिनाउँदै लैजानुका साथै रीतिरिवाज, कला संस्कृतिलाई साउथ अष्ट्रेलियाबासिहरु बिच चिनाउने प्रयास स्वरूप इन्द्रजात्रा कार्यक्रमको आयोजना गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपालभित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोस्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा सिक्ने मौका पाउनेमा गुठी साउथ अष्ट्रेलिया विश्वस्त रहेको समेत बताए ।

उनले यस बर्ष दिनको १ बजेबाट शुरु हुने जात्रामा विगत बर्षहरुमा नेपाली समुदाय बाहेक पनि ठुलो मात्रामा गैर्ह नेपालीहरु पनि सहभागी भएकाले यस बर्ष पनि सहभागीता राम्रो हुने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १८:०७