१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको छ: अध्यक्ष दाहाल

२५ भदौ, सिराहा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ, सहयोग तथा खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार बिहान नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिराहाले गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताउनुभयो ।

२०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिराहाको जनप्रतिनिधिको रूपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिराहाका जनतालाई धन्यवाद दिँदै संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको समेत बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो-‘संविधानले जनताको बलिदानको जगमा निर्मित उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ । सङ्घीयता सहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, र हजारौँ नागरिकता विहीनहरुले पनि नागरिकता पाउने अवस्था बनेको छ । यसलाई तपाईँहरूले महत्त्वपूर्ण उपलब्धिको रूपमा लिनुभएको छ भन्ने मैले बुझेको छु ।

पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार ०९:५३