१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

देशमा आर्थिक सुधारका आधार तयार हुँदैछन्ः अध्यक्ष ढकाल

२४ भदाै, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताउनु भएको छ ।

ढकालले सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा साे कुरा भन्नुभएको हो ।

भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको जानकारी गराउनुभयो । ढकालले सरकार, निजि छेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हाते मालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।

ढकालले दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गर्नु भयो ।

उहाँले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराउनुभयो । ढकालले उक्त प्रतिवेदन व्यवसायिक समुदाय र नीतिनिर्माताहरूका लागि महत्त्वपूर्ण साबित भएको जानकारी दिनुभयो ।

ढकालले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा पर्यावरण, सामाजिक, र शासन (इएसजी ) कार्यक्रम ल्याउन कार्यरत रहेको पनि बताउनुभयो । ढकालले अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र मकहासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

भेटको क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताउनुभयो । फाखौरीले यसै समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको बताउनुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १४:२७