३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

यस्तो देखियो एडिलेडको तिज

अष्ट्रेलिया। साउथ अष्ट्रेलियाको पुरानो नेपाली संस्था एडिलेड नेपाली समाजको आयोजनामा पुजा तथा नाच गान सहितको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

भाद्र शुक्ल तृतियामा मनाइने पर्व अर्थात नेपाली नारीहरुको पर्व हरितालिका तिजका अबसरमा अष्ट्रेलिया सबै राज्यहरुमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । नेपालीहरुको संख्या बढे संगै प्रवासका चाड पर्वहरुमा समेत नेपालमा झै रौनक देखिन थालेको छ । यसै क्रममा पछिल्लो समय नेपालीहरुको उल्लेखनीय रुपमा वृद्धि भै रहेको राज्य साउथ अष्ट्रेलियाको एडिलेडमा भाद्र शुक्र तृतियाकै दिनमा अर्थात तिजकै दिनमा एक भव्य तिज कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय क्लोभेली पार्क मेमोरियल हल एवं परिसरमा आयोजित कार्यक्रममा १२०० भन्दा बढि सहभागिता जनाएका छन् । तिजकै दिनमा बर्त बसेर घरमा बस्नु पर्ने अबस्थालाई अन्त्य गर्दै समाजले पुजा सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकोमा भक्तजनहरुले खुशी व्यक्त गरे ।

हल परिसरमा निर्माण गरिएको जग्गेमा ब्रतालुहरुलाई एडिलेडमा विगत केहि बर्ष देखि धार्मिक कार्यहरु गराउदै आएका शास्त्री संभव सुवेदीले बैद्धिक विधीबाट पुजा गराएका थिए । परम्परागत भाकाका तिज गितमा नेपालबाट आएका अभिभावकहरुको सहभागिताले निकै रौनकता थपिएको थियो ।

कार्यक्रममा हलुवा, अचार, तरकारी, चिया समेतको व्यवस्था गरिएको थियो ।

आयोजक संस्था एडिलेड नेपाली समाजका अध्यक्ष श्याम दहालले तिजकै दिनमा विशेष कार्यक्रम आयोजना गरिएको बताउदै समाज यहा रहेका चेलीहरुको माइतीका रुपमा निमन्त्रणा गरेर कार्यक्रम आयोजना गरेको बताए । उनले समाजले स्थापना २०१२ देखि दर कार्यक्रमहरु गरेको तर नेपालीहरुको संख्या बढे संगै अन्य संस्था तथा व्यवसायी ईभेन्ट आयोजकहरुले पनि गरिरहेको अवस्थामा समाजले अझै अगाडि बढेर तिज विशेष कै दिनमा कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रम संयोजक लक्ष्मी आचार्य सापकोटीले सहभागी, सौजन्यकर्ता, स्वयंसेवक तथा कलाकारहरु प्रति धन्यवाद व्यक्त गरिन । उनले कार्यक्रममा सौजन्य गर्ने व्यवसायी संस्थाहरु तथा विहानै देखि प्रसाद तयारी गर्ने स्वयंसेवकहरुको भुमिका प्रशंसनीय रहेको बताईन । चन्द्रकोट ज्वेलर्सले  सौजन्य मंगलसुत्र तथा नेपाली बुक्स अष्ट्रेलियाले सौजन्य गरेका पुस्तकको राफल समेत खोलिएको थियो ।

अध्यक्ष श्याम दहालले मन्तव्यबाट राख्दै सबैमा धन्यवाद र आभार व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेहा धमला र श्रीजा कडेलले तथा राफल संचालन पव्लिक रिलेसन अफिसर सुरेन्द्र रेग्मीले गरेका थिए । समाजका अध्यक्ष दहाल, कार्यक्रम संयोजक तथा पुर्व प्राचार्य लक्ष्मी आचार्य सापकोटा, उपाध्यक्ष बालगोपाल उपाध्याय,  उपाध्यक्ष तथा एडिलेड नेपाली विद्यालयकी प्राचार्य  एलिजा ढकालले कलाकार तथा सौजन्यकर्ता व्यवसायी संस्थाहरु सम्मान गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार ०५:५१