३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

शिक्षामन्त्री भट्टराई भन्छिन्- अभिभावकको अनुमतिमा मात्र रुस जान दिनेछ

२० भदौ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताउनुभएको छ । आज मन्त्रालयमा रुसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँगको छलफलमा उहाँले अभिभावकले आफ्नो छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र पठाउन सकिने बताउनुभएको हो ।

“अहिले रुस र युक्रेनको युद्ध चलिरहेको छ । यस्तो अवस्थामा अभिभावकले मन्त्रालयसँग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमतिपत्र माग्न आउनुहुन्छ भने हामी प्रतिबद्धता जनाएर पठाउन तयार छौँ” उहाँले भन्नुभयो, “दुई देशबीच युद्ध चलिरहेको बेला हामीले अध्ययन अनुमतिपत्र दिन सकेका थिएनौँ । परराष्ट्र मन्त्रालयले पनि जानका लागि स्वीकृत दिएपछि विद्यार्थीलाई अभिभावकको सहमतिमा पठाउछौँ ।”

मन्त्रालयले ती विद्यार्थी पढ्न जाने ठाउँको स्थितिबारे परराष्ट्र मन्त्रायलसँग बुझेर मात्र अध्ययन अनुमति पत्र दिन लागेको हो । मन्त्री भट्टराईले विदेशभन्दा नेपालकै विश्वविद्यालयको शिक्षा सुधार गर्न आफू लागि परेको उल्लेख गर्नुभयो । उहाँले १३ वटै विश्वविद्यालयको एउटै शैक्षिक पात्रो बनाएर समयमा भर्ना, पढाइ र परीक्षाफल प्रकाशित गर्न थालेको जानकारी दिनुभयो ।

शिक्षा सचिव डा दीपक काफ्लेले रुसको १२ ठाउँमा ४० जना विद्यार्थी चिकित्सा शास्त्र, इञ्जिनियरिङ लगायत विभिन्न विषयमा छात्रवृत्तिमा अध्ययन गर्न जान लागेको जानकारी दिनुभयो । उहाँले रुसस्थित नेपाली राजदूतावासले पनि ती विद्यार्थी पढ्न जाने ठाउँ सुरक्षित रहेकाले मन्त्रालयले अध्ययन अनुमति पत्र दिने प्रक्रिया अघि बढाउन सकिने जानकारी दिएको बताउनुभयो ।

छलफलमा अभिभावक गङ्गा भण्डारीले रुसमा छोरीले चिकित्सा शास्त्र स्नातक तह ९एमबिबिएस०मा छात्रवृत्तिमा नाम निकालेको हुनाले मन्त्रालयले अध्ययन अनुमतिपत्र दिनुपर्ने बताउनुभयो । उहाँले रुस युक्रेनको युद्धले छोरी पढ्ने विश्वविद्यालय भएको ठाउँमा प्रभाव नपर्ने भएकाले अध्ययन अनुमतिपत्र दिन आग्रह गर्नुभयो ।

उहाँकी छोरी संस्कृति भण्डारी मस्कोस्थित पिपुल्स फ्रेन्डसिप विश्वविद्यालयमा एमबिबिएसका लागि जान लाग्नुभएको हो । “उक्त विश्वविद्यालयमा चिनेजानेका धेरै दाईदिदीहरु हुनुहुन्छ । उहाँहरुले मस्कोमा युद्धको कुनै डर छैन, आउनुहोस् भन्नुभएको छ,” संस्कृति भण्डारीले भन्नुभयो, “त्यसैले मन्त्रालयले हामीलाई चाँडोभन्दा चाँडो अध्ययन अनुमतिपत्र दिएर छात्रवृत्तिमा अध्ययन गर्न स्वीकृत प्रदान गरोस् ।”

रसिया सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा परराष्ट्र मन्त्रालयले छनोट गरेपछि ती ४० जना विद्यार्थी रुस जान लागेका हुन । ती विद्यार्थी दुई वर्षदेखि छ वर्षसम्म चिकित्सा, इञ्जिनियरिङ लगायतका विषय अध्ययन गर्न जान लागेका हुन् । अर्का अभिभावक रामनिवास पुरीले छोराले छात्रवृत्तिमा नाम निकालेको हुनाले मन्त्रालयले अध्ययन अनुमतिपत्र उपलब्ध गराएर रुस जाने वातावरण निर्माण गर्न अनुरोध गर्नुभयो । उहाँले युद्धको नाममा छोराछोरीलाई अध्ययन अनुमतिपत्र रोक्न नहुने बताउनुभयो । उहाँका छोरा अरुणकुमार पुरी पनि एमबिबिएस अध्ययनका लागि रुस सरकारद्वारा प्रदान गरिने छात्रवृत्तिमा जाने तयारीमा हुनुहुन्छ ।

छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकले मन्त्रालयले अध्ययन अनुमतिपत्र दिनुपर्ने बताएका छन् । रुसस्थित नेपाली राजदूतावासले पनि ती विद्यार्थी पढ्ने ठाउँ सुरक्षित रहेकाले अध्ययन अनुमतिपत्र दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार १७:२९