३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

कतारमा श्रमका लागि गएका नेपालीहरूको समस्या समाधान पहिलो प्रथामिकतामा राख्नुस्: महेशकुमार बर्तौला

१८ भदौ, काठमाडौँ । सांसदहरुले कतार र इरानका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई कतारमा रहेका श्रमिकको समस्या समाधानलाई पहिलो प्राथमिकता दिन सुझाव दिनुभएको छ । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा पौडेललाई बोलाएर सांसदहरुले श्रमिकहरुको समस्या बढिरहेको भन्दै समाधानमा जोड दिन सुझाव दिनुभएको हो ।

पौडेलले कतारमा रहेका नेपालीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “कतारमा रहेका श्रमिकहरु समस्यामा छन्, घरेलु कामदारमा गएका महिलाको समस्या उस्तै छ,” उहाँले भन्नुभयो, “यी समस्या न्यूनीकरण गर्दै बीमाको व्यवस्था गर्न लागिपर्ने छु ।”

तोकिएको जिम्मेवारी पूरा गर्दै मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्ने उहाँले जानकारी दिनुभयो । “नेपालमा कतारको लगानी भित्र्याउन पहल गर्ने छु,” उहाँले भन्नुभयो । समितिको सभापति इश्वरीदेवी न्यौपानेले नेपालसँग कतार र इरानबीचको सम्बन्ध विस्तारमा देशका प्रतिनिधिको हैसियतले राजदूतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सांसद महेशकुमार बर्तौलाले कतारमा रहेका श्रमिकहरुले श्रम सम्झौता भएबमोजिम सुविधा पाए नपाएको अध्ययन गरेर समस्या समाधान गर्न पौडेललाई सुझाव दिनुभयो । “चार लाख नेपाली कतारमा श्रमका लागि गएका छन्, कतिले समस्या भोगिरहेका छन् । उनीहरुको समस्या समाधान पहिलो प्रथामिकतामा राख्नुस्,” उहाँले भन्नुभयो ।

अर्का सांसद लीलानाथ श्रेष्ठले कतारमा मृत्युवरण गर्ने नेपाली श्रमिकको शवसमेत नेपाल ल्याउन गाह्रो भएकाले उक्त समस्या समाधान गर्नुपर्ने सुझाव दिनुभयो । सांसद जगप्रसाद शर्माले तेल र ग्याँसबाट कतार, इरान धनी भइरहेकाले त्यहाँको सिकाइ र प्रविधि मुलुकमा भित्र्याउन सके अर्थतन्त्रमा सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्की, इश्वरी घर्ती, श्यामप्रसाद घिमिरेले कतारमा देखिएको श्रम समस्या समाधान, लगानी भित्र्याउन पहल, स्वदेशी वस्तु निर्यात प्रवर्द्धनका लागि पहल गर्नुपर्ने सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १७:१९