३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

लोसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

१८ भदौ, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुङ्गो लगाउन यही भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

आगामी वैशाखमा महाधिवेशनको तयारी थालेको पार्टीले स्थान र तिथि तोकेर आवश्यक कार्यक्रम सञ्चालन गर्न बैठक भोलि बोलाएको हो । वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म सङ्गठन सुदृढीकरणसम्बधी कार्यक्रम निर्माण गरिने बैठकमा पार्टी सञ्चालनका लागि आर्थिक नियमावली संशोधन गरिने पार्टीका सचिव प्रतिक पाठकले जानकारी दिनुभयो ।

संविधान संशोधनका विषयमा पार्टीले तय गर्ने एजेण्डामा समेत छलफल गरी सुझाव सङ्कलन गरिने बैठकमा समान विचारधारा भएका राजनीतिक दल तथा समूहसँगको सहकार्य एवं एकता गर्ने विषयमा छलफल गरिने छ ।

बैठकमा नेताहरूले दिएका सुझावका आधारमा साझा दृष्टिकोण बनाएर आगामी केन्द्रीय कमिटी बैठकबाट पारित गरिने जनाइएको छ । आसन्न मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी तथा उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे सम्बन्धित नेताले केन्द्रलाई जानकारी गराउने बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा गरिने जनाइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १३:०९