३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

‘पूर्ण बहादुरको सारङ्गी’ को ‘टिजर’ सार्वजनिक

१६ भदौ, काठमाडौँ । आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा) को मिति तय गरेर प्रदर्शन गर्न लागिएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को ‘टिजर’ सार्वजनिक गरिएको छ । ‘सेभेन सिज सिनेमा’ को ‘अफिसियल युट्युब च्यानल’ बाट आज टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत देखिएका छन् । गरिबीका कारण बुवाले झेल्नुपरेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडको पीडा टिजरमा समेटिएको छ ।

टिजरको सुरुमै प्रकाश (छोरा) ले एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाएको देखिन्छ । त्यसपछि बुवाले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन् । स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पु¥याएको, सारङ्गी बजाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर पुगेर सफलता प्राप्त गरोस् भन्ने बुवाको चाहना देखाइएको छ । एक मिनेट ५० सेकेण्डको टिजरमा अभिभावकले सन्तानको प्रगतिका लागि गर्ने त्याग र त्यसले दिने उपलब्धि समेटिएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ एक विपन्न परिवारकाले सन्तानको सपना पुरा गर्न गर्ने सङ्घर्ष को कथा भएको निर्माता विनोद पौडेलले जानकारी दिनुभयो । चलचित्रको लेखन तथा निर्देशन सरोज पौडेलले गर्नुभएको छ । विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बाँस्तोला, श्याम केसी, जानवी पौडेललगायतले चलचित्रमा अभिनय गरेका छन् ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । सामाजिक कथामा निर्माण गरिएको यस चलिचित्रको मूल कथा गन्धर्व परिवारमा आधारित छ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेख्नुभएको हो ।

चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईँ, हरि श्रेष्ठ र रमेश ढकाल छन् । प्रशान्त सिवाकोटीको सङ्गीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर चलचित्रमा  सुन्न सकिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार ०८:४०