३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनुपर्छ: पूर्वमन्त्री चौधरी

१६ भाद्र, सुनसरी । पूर्वमन्त्री तथा सांसद भगबती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । टोलविकास लघुउद्यम सहकारी संस्था इटहरीको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएका हुन् ।

सुनसरी ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, वित्तीय संस्था तथा सहकारीलाई समुदायप्रति जिम्मेवार हुने खालका नियम कानूनहरू लागू गर्नुपर्ने बताए । ‘आर्थिक क्षेत्रमा काम गर्नेहरूलाई जिम्मेवार बनाउनुपर्छ । तर सबैलाई एकै नजरले हेर्न हुँदैन’, उनले भने, ‘यस क्षेत्रमा केही नराम्रा गर्ने संस्थाहरू छन् । तर तीनलाई छानबिन गरेर आवश्यक कारबाहीको दायरामा ल्याउनुपर्छ । केही संस्थाले गलत गरे भन्दैमा सबैलाई एकै नजरले हेर्नु हुँदैन ।’

सकारी र बैंक तथा वित्तीय संस्थालाई फरक-फरक तरिकाले नियमन गरिएको भन्दै कुन संस्थाले के गरिरहेका छन् भन्ने कुरा राज्यले नियमन गर्नुपर्ने उनको भनाई थियो । सहकारीहरूको आ-आफ्नो मान्यता र लक्ष्यहरू रहेको भन्दै उनले राज्यले निर्धारण गरेका नियम कानूनमा रहेर काम गर्नुपर्ने बताए । सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने भन्दै उनले न्यायपूर्ण व्यवहार गर्न आवश्यक रहेको बताए ।

हरेक व्यक्ति समाजप्रति उत्तिकै रूपमा उत्तरदायित्व बन्नुपर्ने भन्दै उनले भने, ‘हामी सबैले सामाजिक उत्तरदायी निर्वाह गर्नुपर्छ । अहिले हरेक व्यक्तिले आफ्नो उत्तरदायित्व के हो भन्ने कुरा भुल्नु हुँदैन ।’ अर्को प्रसङ्गमा पूर्व मन्त्री चौधरीले पछिल्लो समय युवाहरूमा बढ्दै गएको नैराश्यतालाई चिर्ने खालका गतिविधि सबैले गर्नुपर्ने बताए ।

‘हुनेखानेको छोराछोरीहरू अन्य विकसित क्षेत्रमा जाने गरेका छन् । तर आर्थिक रूपमा कमजोर भएका व्यक्तिका छोराछोरीहरू खाडी लगायतका मुलुकमा श्रम गर्न जाने गरेका छन्’, पूर्वमन्त्री चौधरीले भने, ‘यस्तो अवस्थालाई चिर्नका निम्ति हामीले युवाहरूमा आशा जगाउने खालका गतिविधिहरू सञ्चालन गर्न आवश्यक छ ।’

पछिल्लो समय युवाहरूमा नैराश्यता बढ्दै गएको भन्दै उनले त्यसलाई चिर्दै युवाहरूमा आशा जगाउनका निम्ति सबैले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए । (देविका घर्तीबाट प्राप्त समाचार)

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार २१:५७