१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

धर्म संस्कृति पनि व्यापारिकरण भयोः महासचिव पोखरेल

१६ भदाै, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले धर्ममा पनि व्यापारिकरण भएको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विभिन्न नामका गुरुजीहरूले धर्म र मौलिक संस्कृतिको मर्म माथि नै प्रहार गर्ने गरेका पोखरेलले बताउनुभयो । ‘धर्म संस्कृतिको पनि व्यापारीकरण भएको छ’, उहाँले भन्नुभयो ।

नेपाली संस्कृतिको जग भनेको नेपाली समाजको विविधता बिचको एकता भएको पोखरेलले बताउनुभयो । अहिले यही परम्परा माथि हमला भइरहेको उहाँको भनाइ छ । जातीय अतिवाद, धार्मिक अतिवाद र धर्मान्तरले नेपालको मौलिक परम्परालाई ध्वस्त पार्न लागेको उहाँले बताउनुभयो । ‘नेपालको मौलिक संस्कृतिको महत्वलाई हामीले बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो ।

नेपालको मौलिक संस्कृतिको जगले नै नेपाल कहिल्यै कसैको उपनिवेश बन्नु नपरेको उहाँले बताउनुभयो । नेपाली संस्कृति वीरताको लागि अनुकूल बनेको पोखरेलले स्पष्ट पार्नुभयो । ‘शक्ति उपासनाको परम्पराबाट हुर्किएको नेपाली आज बहादुरमा परिणत भएको छ’, उहाँले भन्नुभयो ।

युवामा पलायनता, निराशा र कुण्ठा बढ्नुको कारण निर्वाहमुखी उत्पादनको ढाँचा भएको उहाँको धारणा छ । विगतमा परिवार चलाउन त्यो उपयुक्त भए पनि अब निर्वाहमुखी उत्पादन प्रणालीले जीवन नचल्ने भएकोले अवसरको खाजीको लागि युवा पलायन बढेको उहाँले प्रष्ट पार्नुभयो ।

एसिया अस्थिर बनाउन चाहने शक्ति राष्ट्रले नेपालमा अस्थिरता मच्चाउन अनेक प्रयत्न गरेको पोखरेलले टिप्पणी गर्नुभयो । नेपालमा अस्थिरता मच्चाउन सक्दा एसियाका दुई ठुला मुलुक भारत र चीनमा चलखेल गर्न सकिने भएको कारण यी प्रयत्न भएको उहाँको भनाइ छ ।

नेपालमा अवसर नपाएर मात्र युवा विदेश नगएका उहाँले बताउनुभयो । अरूको देखासेखीमा विदेश जान प्रचलन बढ्दै गएको पोखरेलेको धारणा छ । विदेशबाट नेपाल आउने पैसा भन्दा बढी पैसा नेपालबाट भारतीयले लैजाने गरेका बताउँदै उहाँले नेपालमा कामको प्रशस्त सम्भावना छ भन्ने कुरा यसले पुष्टि गरेको पोखरेलले बताउनुभयो ।

नेपालमा चाडबाड भड्किला बन्दै गएको पोखरेलले बताउनुभयो । साउनका हरिया पहिरनदेखि सुरु हुने खर्च दशैँ, तिहार र छठसम्म पुग्दा क्लाइमेक्समा पुग्ने गरेको पोखरेलले सुनाउनुभयो । खर्च गर्ने कुरा आफैँमा खराब नभएको बताउँदै उहाँले तर के गर्दा अर्थतन्त्रको आधार विकास हुन्छ र के गर्दा अर्थतन्त्र कमजोर हुन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने पोखरेलको धारणा छ ।

देश भित्रकै उत्पादन प्रयोग गर्ने गरी अर्थ गर्ने हो भने देशको अर्थतन्त्रलाई बलियो बनाउने उहाँले प्रष्ट पार्नुभयो । विदेशबाट ल्याएका सामान प्रयोग गर्ने कुरा संस्कृति विपरीतको कार्य हो भन्ने बुझाउन सक्ने हो भने देशको अर्थतन्त्र उकालो लाग्ने पोखरेलले बताउनुभयो ।

आफूले गरेको उत्पादन भगवानलाई चढाउने परम्परा विकार गर्ने हो भने देशको पुँजी बाहिर नजाने उहाँले स्पष्ट पार्नुभयो । ‘आफ्नो उत्पादनको समर्पणबाट भगवान् खुसी पार्न खोजिएको हो, तर ब्राह्मणले लगाउने जनै चाइनाबाट आउन लाग्यो, अथवा इण्डियाबाट आएको सामान भगवानलाई चढाउने, के अर्थ छ र’, उहाँले भन्नुभयो ।

तिज पर्वलाई संस्कृतिको माध्यमबाट जागरणको पर्व बनाउन सकिने पोखरेलले बताउनुभयो । यो पर्व समाजमा दिदी बहिनीहरू खुलेर प्रकट हुने पर्व पनि भएको उहाँको भनाई छ । ‘भेला हुने कुरा नराम्रो होइन, यसले दिदी बहिनीको आत्मबल बढाउँछ, तर हरेक चिजको सीमा हुन्छ, हरेक चिजको सीमा हुन्छ भन्ने कुरा बुझिएन भने त्यसले विकृति ल्याउँछ’, उहाँले भन्नुभयो ।

सही विचारलाई सम्प्रेषण गर्न सकियो भने पर्वहरूले समाज रूपान्तरणको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पोखरेलले बताउनुभयो । अरू सबै पर्व र कर्मको समय घटाउन लाग्दा पनि तिज भने एक महिनाभन्दा बढी मनाउने विषयमा प्रश्न उठ्न लागेको उहाँले बताउनुभयो । यसको उपयोगिता छ भने समय बढ्दा राम्रो हुने भए पनि उत्पादनको काम छाडेर महिना भरि नाचगानमा हिँड्दा त्यसले पार्ने प्रभाको बारेमा पनि सोच्नु पर्नेमा पोखरेलले जोड दिनुभयो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार १९:५५