६ पुष २०८१, शनिबार | Sat Dec 21 2024

प्रकाश तामाङ र जबजको मापदण्ड

-सरोजकुमार तामाङ

विचारभित्र तथ्य र ती तथ्यहरूबाट सत्यको उजागर गर्न हामीले समाजमा व्याप्त सार्वभौम नियमहरूको प्रयोग गर्दछौं । त्यो सार्वभौम नियमहरूको संगालो नै सिद्धान्त हो । बिना सिद्धान्त समाजको भौतिक वास्तविकता बुझ्न सक्दैनौं । त्यो भनेकै मार्क्सवादको द्धन्द्धात्मक र ऐतिहासिक भौतिकवादको चरम सदुपयोग प्रत्येक सामाजिक घटनाहरूमा गर्नु हो । यसको ठिक विपरित व्यक्तिको स्वार्थलाई बुझ्न भने बुर्जुवावादी दर्शनशास्त्र यानि कि अध्यात्मवादको प्रयोग गरिन्छ । यी दुई दर्शनशास्त्रहरूकै शाखाहरू बाँकी दर्शनशास्त्रहरू हुन् । तर, वस्तुवादी नियमहरूको यथार्थ नबुझि गरिने सामाजिक घटनाहरूप्रतिको विश्लेषणले ती घटनाहरूको वास्तविकता र घटनाको सत्यको गहिराईसम्म पुग्न सकिदैँन् । त्यसैले, यहाँ हामी समाजको वास्तविक चित्रण गर्ने भौतिकवादी दर्शनशास्त्रका दृष्टिकोणहरूबाट सामाजिक घटनाहरू र परिघटनाहरू, त्यसले भविष्यमा जन्माउन सक्ने सम्भाव्यता र वास्तविकताको अवधारणाहरूलाई केलाउन खोजिदैँछ ।

समाजमा घटेका प्रत्येक घटनाहरूलाई हामीले अंगिकार गरेको सिद्धान्तको आलोकमा जाँच्न छाडेर सतही रूपले व्याख्या र विश्लेषण गर्न थाल्यौं भने समस्याहरूको निराकरण गर्न सक्दैनौं । समस्या ज्युँको त्युँ रहन्छ । यो भएमा हामी नेकपा एमालेजनहरूले लगाएको नारा जबजको मार्गनिर्देशमा वर्गसंघर्षरहित समाजवादको आधार निर्माण गर्न सक्दैनौं । तर, हामी अधिकांश एमालेजनहरूमा देखिएको गलत प्रवृत्ति यही हो कि समाजको प्रत्येक घटनाहरूलाई नेपाली मौलिकता बोकेको मार्क्सवाद जनताको बहुदलीय जनवादको दृष्टिकोणबाट हेर्नै छाड्यौं । यसरी हामीले आत्मसाथ गरेको जबजलाई प्रत्येक सामाजिक घटनाहरूको वास्तविकतालाई केलाउन प्रयोग गर्दैनौं भने त्यही हिजोदेखी राजकीय र सामाजिक जीवनहरूमा जरा गाडेर बसेका सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक शैंलीका विश्लेषणहरू छर्पष्ट हुन्छ । यसले समाजको प्रगतिशील क्रान्तिकारी परिवर्तन भन्दापनि समाजलाई अझ दासयुगको मार्गतर्फ सोझ्याउँछ ।

यी माथिका भूमिका बाँध्नुको तात्पर्य के हो भने अहिले सामाजिक सञ्जाल लगायत हाम्रा समाजलाई तताउने प्रकाश तामाङको दयनीय कथालाई हाम्रै मार्क्सवादी मौलिकताले भरिएको जबजको आलोकमा राखेर विश्लेषण गर्दा समाजको वास्तविकता के हो भन्ने वस्तुगत विचारहरू जन्मिन्छन् । प्रकाश तामाङ विगतको दमनकारी राज्यनीतिको वर्तमान उपज हो । यस्ता हजारौं प्रकाश तामाङहरू चाहे जातिगत हिसाबले होस् या लैंगिक, धार्मिक, भाषिक लगायत अन्य भौगोलिक कारणहरूले जन्मेपनि उनीहरूको दर्दानाक नारकीय जीवनको प्रस्तोताहरू भनेका हिजोका सामन्तीवर्गहरू र तिनले समाजको शोषण उत्पीडन जस्ता कुसंस्कारको बिग्रह रूप नै हुन् ।

सर्वहारा र श्नमजीवीवर्गहरूको प्रतिनिधित्व गर्ने जबज र यिनलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगाल्ने जनताको निर्णायक शक्ति नेकपा एमालेले यस्ता घटनाहरूलाई विल्कुल गलत ठान्दछ । त्यसैले, हेर्ने कथाको कथावाचिका विद्या चाँपागाईद्धारा उक्त प्रकाश तामाङको हराएका बर्षहरू सामाजिक सञ्जालहरूमा आउने वित्तिकै सर्वप्रथम नेकपा एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेश मुख्यमन्त्री लगायत अन्य एमाले नेताहरूले चाँसोको साथ हेरिएका छन् । तर, यसैबीचमा नेपाली काँग्रेसको ध्यान खै ? युवाको आवाज बोक्ने रवि लामिछानेको रास्वपाको विचार खै ? सुदन किँराती बाहेक पार्टीगत हिसाबले माओवादी बोलेको खै ? हो, यहीबाट प्रष्ट हुन्छ कि हाम्रो व्यवहारिक जीवनमा समाजको प्रत्येक घटनाहरूलाई केलाउन नेकपा एमाले बाहेक अन्यसँग मार्क्सवादको सृजनात्मक सिद्धान्तको कति धेरै कमी छ भन्ने । जसरी बिना गाँस, बास, कपास हामी बाँच्न सक्दैनौं, त्यसरी नै मार्क्स र एंगेल्सद्धारा प्रतिपादित र आफ्नै मौलिकताको सृजनात्मक भौतिकवादी सिद्धान्तबिना हामीले समाजको प्रत्येक घटनाहरूको वास्तविकता पत्ता लगाउन सक्दैनौं ।

हामी समाजवादको पूर्वसन्ध्यामा छौं । त्यो पूर्वसन्ध्या भनेको समाजवादको आधार निर्माण गर्ने बेला हो । त्यो समाजवादको आधार निर्माण गर्न प्रकाश तामाङ जस्ता कैयौं नेपाली सर्वहारा र श्नमजीवीवर्गका छोराछोरीहरूलाई बधुवा मजदूरको रूपमा मुलुकको कुना काप्चामा लुकाएर आफू र आफ्ना परिवारको शोखिन जीवन व्यतित गर्ने ती सामन्तवर्गहरू र तिनका अवशेषहरूलाई निर्मूल नगरून्जेलसम्म हाम्रो जनवादी क्रान्ति सफल हुँदैन् किनकि जबजको अनुसार यो मुलुकमा मार्क्सवादको सृजनात्मक प्रयोग गर्ने हो भने सर्वप्रथमत: सामन्तवाद र साम्राज्यवादका आधार र अवशेषहरूको निर्मूल प्राथमिकतामा हुनुपर्छ । यो नै अहिलेको परिप्रेक्ष्यमा वर्गसंघर्षका स्वरूपहरू हुन् ।

dainiki.com

अझ कोही-कोही त प्रकाश तामाङलाई साहारा दियो भन्दै त्यही सामन्तवादको पक्षपोषण गर्दै हिडेका छन् । यो भनेको मार्क्सवादको नेपाली सृजनात्मक प्रयोग जबजको अध्ययनको कमी हो । हरेक विकसित सामाजिक घटनाहरूलाई केलाउन जबजको दृष्टिकोण र भावहरूको औंजारहरूलाई कुनामा थन्काएर नवसामन्ती प्रथाको समाज निर्माण गर्ने युवा पंक्तिहरूको कमी यो धर्ती छैन् । यसले नै हामीभित्र संगठनात्मक अराजकता सृजना गर्ने हो । संगठनात्मक अराजकता भनेको केन्द्रियता नहुनु हो, त्यो केन्द्रियता नहुनु भनेको अनुशासनको उल्लंघन गर्नु हो र, त्यो अनुशासनको उल्लंघन गर्नु भनेको मार्क्सवादको नेपाली मौलिकताको सृजनात्मक प्रयोग जबजको नीतिहरूलाई व्यवहारत: प्रयोगमा नल्याउनु हो । यस्ता प्रवृत्तिहरू पार्टी संगठनहरूभित्र लामो समयसम्म रहे दक्षिणपन्थी अवसरवादको उदय हुने हो । त्यो दक्षिणपन्थी अवसरवाद भनेको जनवादीता नहुनु हो यानि कि जनताको जनमुद्दाहरूले पार्टी संगठनहरूमा प्राथमिकता पाउनु पर्नेमा व्यक्ति र सिमित झुण्डहरूको स्वार्थले गाँजिएको दृष्य हो । जब यो क्यान्सरको रूपमा फैलिन थाल्छ, त्यो बेला पार्टी संगठनभित्र प्रतिक्रियावादको जन्म हुने हो । तर, अहिलेसम्म हामी नेपाली काँग्रेस जसरी त्यो अवस्थामा भने पुगिसकेका छैनौं ।

हाम्रा केही कमरेडहरू अहिले निम्न पूँजीवादी चिन्तनसम्म पुग्न भ्याएका छन् । यो भनेको साधारण बोलीचालीको भाषामा लघु स्वामीको अवस्था हो, आत्म केन्द्रियताको अवस्था हो । हो, त्यही प्रवृत्तिको विकास हिजोको राज्यसत्ताले शोषण दनमको शिकार भएका प्रकाश तामाङको पूर्व मालिकमा पनि देखा परे । ती हिमाली भेगका शेर्पा तामाङ दाजुभाईहरू अहिलेसम्म पनि राज्यको अर्ध-विभेदकारी नीतिहरूद्धारा उपेक्षित हुँदै आएका छन् तर उनीहरूमा ती राज्य र समाजका विभेदकारी नीतिको डटेर सामाना गरी सभ्य समाजको निर्माण क्रममा अग्रसर हुनुपर्नेमा उल्टै सामन्तवर्गका दमनकारी नीतिको अवलम्बन गर्दै उनीहरूले पनि आफू भन्दा निम्न र आवाजहीनहरूलाई दबाउने प्रवृत्तिको विकास गरे । यसले के प्रमाणित गर्दछ भने हामी शोषक सामन्तवर्गका सन्तानहरू नभएपनि लामो समयसम्म ती सामन्तवर्गहरूले संचालन गरेका विभेदकारी नीतिहरूलाई अंगाल्यौं, हाम्रो दैनिकी बनाउने कोशिस गर्यौं । क्रान्तिकारी परिवर्तनको मोर्चा समाल्नु पर्नेमा उल्टै हामीभित्र लघु स्वामी बन्ने निम्न पूँजीवादी चिन्तन र सामन्ती दार्शनिक बन्न थाल्यौं । यो गलत कोर्षलाई सच्याउन कम्युनिष्ट पार्टी र संगठनहरूभित्र अन्तरसंघर्षलाई निरन्तरता दिनुपर्छ भने बाह्य समाजमा वर्गसंघर्षका कार्यक्रमहरू बारम्बार संचालन गर्दै जानुपर्छ । अनि मात्र हामी असल कम्युनिष्ट बन्न र बनाउन सक्छौं ।

यतिले पनि नपुग्ने अवस्था आएको खण्डमा सर्वहारावादी साँस्कृतिक क्रान्तिको थालनी गर्नु पर्ने हुन्छ किनकि त्यो दक्षिणपन्थी अवसरवाद विकसित भएर प्रतिक्रियावादी शक्तिको रूपमा देखापर्दछ । ती प्रतिक्रियावादी शक्तिले हाम्रा प्रत्येक प्रगतिशील कार्यहरूको माध्यमबाट समाजवादको लक्ष्यमा पुग्न बिना हिच्किटाह सर्वहारा श्नमजीवीवर्गहरूलाई विभाजन गर्ने, मार्क्सवादी विचार र दृष्टिकोणहरूमा संगठित हुन नदिने, समाजवादी मार्गको तगारो बन्ने जस्ता हर्कतहरू गर्दै जान्छ । यस्तो बेला शान्तिपूर्ण तवरले होइन, बलिदानीपूर्ण क्रान्तिको माग समयले गर्दछ । त्यो बिना समाजवादको आधार निर्माण गर्ने जनवादी क्रान्तिको क्रममा सामन्तवाद र साम्राज्यवादका आधार शिविरहरू निम्ट्यान्न पार्न सक्दैनौं । यो हुन नसकेको खण्डमा हाम्रा सामाजिक रूपान्तरणका कार्यभारहरूमा क्रान्तिकारी जुझारूपन भुत्ते सावित हुन जान्छ । तर, अहिलेको अवस्थामा हामी संवैधानिक शान्तिपूर्ण तार्किक बहसहरूमा संसदमा प्रस्तुत भएका छौं । हामीले संविधानत: ती तमाम् वर्गीय शत्रुहरूसँग संसदीय वर्गसंघर्ष जारी राख्दैछौं । सामन्तवाद र साम्राज्यवादका संसदीय गन्धहरूलाई सफा पार्न हाम्रा कमरेडहरू अहिले संसदभित्र संघर्षरत हुनुहुन्छ । संघर्ष स्वयम् नै आक्रमण र प्रतिरक्षाको संयोजन हो । यो काम त्यहाँ भैरहेको छ । हाम्रा शक्ति जनताको शक्ति हो, त्यसको अगाडी कालान्तरमा कोहिपनि टिक्न सक्दैन् तर, हाम्रो वर्गीय संघर्ष भने लक्ष्य प्राप्त नहुन्जेलसम्म जारी राख्नुपर्छ । त्यसैले त राजनीतिमा थकान हुँदैन भन्ने कुरा जननेता मदन भण्डारीले बारम्बार भन्नु भएको छ ।

यस्ता प्रकाश तामाङ जस्ता हजारौं संख्यामा ती हिमाली गोठहरूमा मुक्तिको पर्खाईमा बसेका छन् । तिनीहरूका नारकीय जीवनबाट मुक्तिको मार्ग प्रशस्त पार्न आजैदेखी हामीले हाम्रा जनताको घरदैलोको सरकार भनिने स्थानीय सरकारहरूलाई परिचालन गरौं र प्रकाश तामाङ जस्ताहरूलाई बन्दक जीवन जीउन बाँध्य बनाउने ती सामन्तवादका चिन्तकहरूलाई कानूनी कार्वाहीमा ल्याऔं । यसो गरेमा अन्यायको चपेटामा परेका प्रकाश तामाङहरू पनि क्रमश: देखा पर्दै जानेछन् र परिवारको मिलन हुनेछ, समाजमा उसको पनि स्वतन्त्रताको हक स्थापित हुनेछ ।

यस्ता लघु स्वामी बन्ने प्रकाश तामाङका पूर्व कथित मालिकहरूलाई पुरस्कार होइन कि कानूनको दायरामा ल्याउनु पर्छ । यदि यसो नगरेको खण्डमा फेरीपनि प्रकाश तामाङ जस्ता गरिबीको रेखामुनि फसेकाहरू हाम्रो समाज र घरपरिवारबाट हराउँदै जानेछन् । यो कुकार्यको अन्त्य हुनुपर्छ । यो नै जबजले भन्ने गरेको सामन्तवादको आधार शिविरमाथि हान्ने सही समय हो । तर, भोट बैंक बिग्रेला कि भन्दै चिन्ता गर्नेहरूबाट समाजवादको आधार निर्माण गर्ने महान् लक्ष्य बोकेका जबजवादीहरू विचलित हुनुहुँदैन् । सामन्तको एक भोटले हजारौं प्रकाश तामाङहरूको आँखाको आँशु पुछ्न सक्दैन् । सामन्तवादको एक भोटको आशमा हामीले सिंगो समाजको विकृतिलाई विद्यमान कुनैपनि राजनीतिक दलहरूले ढाकछोप नगरौं । हामीले प्राप्त राजनीतिक अधिकारहरूको संरक्षण र सम्वर्धन गर्दै आर्थिक साँस्कृतिक रूपान्तरणको निम्ति क्रान्तिकारी कदम चाल्नुको विकल्प छैन् । यही हो जबज, यही हो जबजले मार्गनिर्देशित गर्ने समाजवाद ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार १९:१३