१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एनएमबी बैंकले बिना धितो तीन देखि १५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने

२ पुस,  काठमाडौँ । एनएमबी बैंकले लघु तथा विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाख रुपैयाँसम्म बिन धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार बैंकले कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले सोमबार पत्रकार सम्मेलन गरेर लघु तथा विपन्न वर्गलाई लक्षित गरी एनएमबी सहुलियतपूर्ण कर्जा सञ्चालनमा ल्याएको जानकारी गराएको हो । जसअन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ भने सात प्रकारका ऋण बिनाधितो उपलब्ध गराउने बैंकले जानकारी गराएको छ ।

बैंकले महिला उद्यमशीलता कर्जा अन्तर्गत १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपन्छी, वैदेशिक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ । त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा लागि ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने भएकाे हाे ।

यस्तै, बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्न एनएमबी सहारा बचत खाता पनि सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत विभिन्न १८ प्रकारका रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुने छ । बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने समेत जानकारी दिएको छ ।

प्रकाशित मिति : २ पुष २०७५, सोमबार १९:४३