२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

१५ भदौ, काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ र सातौँ वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत आइतबार बसेको परिषद्को ३४औँ बैठकले आव २०७९÷८० र आव २०८०÷८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको परिषद् सचिवालयले जनाएको छ । बैठकले संविधानबमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको थियो ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारेमा छलफल भएको परिषद्द्वारा जारी विज्ञप्तिमा  उल्लेख  छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, कायममुकायम प्रधानसेनापति र रक्षासचिव सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार १३:४४