३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

वेस्टन अष्ट्रेलियामा नेपाल फेस्टिवल हुदै

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवलको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिख पर्थमा हुने भएको छ । नेपाल फेष्टिवलको उद्देश्य यहाँ हुर्किदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टन अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले बताए । साथै, एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिबृद्धि गर्न पनि नेपाल फेष्टिभलले महत्वपूर्ण योगदान दिँदै आएको उनले बताए ।

नेपाल फेष्टिभल पर्थ २०२४ लाई सफल बनाउन यसका घिमिरे सहितको एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु समेत फेस्टिवलको सफलताको लागि क्रियाशिल रहेका छन् ।

फेष्टिवलाई वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ । भने मुख्य प्रायोजक अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ ।

एनआरएन अष्ट्रेलिया उपाध्यक्ष तथा वेस्टन अष्ट्रेलिया संयोजक शेखर घिमिरे

संयोजक घिमिरेका अनुसार यस पटकको नेपाल फेष्टिवलमा वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी भएका छन्  । नेपाल फेष्टिवलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ । घिमिरेले भने, “यस पटकको नेपाल फेष्टिवलमा तपाईंहरुले नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरा समेत हेर्न पाउनुहुनेछ । हामीले बालबालिकाहरुलाई समय विताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं । नेपालको गीत संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यस पटक बहुसांस्कृतिक समूदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को हाम्रो छ ।”

एनआरएन वेष्टर्न अष्ट्रेलियाका कोषाध्यक्ष हरिवंश संजेलका अनुसार नेपाल फेष्टिभलको १० दिनअघि देखि नै विभिन्न स्थानीय लोकप्रिय पत्रिकाहरुमा र दुई सता अगाडि बाट स्थानिय रेडियोहरुबाट प्रचार गरिने भएको छ  । यस्तै सार्वजनिक यातायातका साधन, विभिन्न जमघटका ठाउँहरुमा नेपाल फेष्टिभवमा निमन्त्रण गरिएको प्रचार सामग्री राखिनेछ । कोषाध्यक्ष संजेलले नेपालको बारेमा यहाँको बहुसांस्कृतिक समूदायलाई जानकारी दिने र नेपाल फेष्टिवलको समेत प्रचार गर्ने अपेक्षा  गरिएको बताए ।

नेपाल फेष्टिवल दिन सेप्टेम्वर १४ मा सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुनेछ । भने राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको छ । 

यस पटकको नेपाल फेष्टिभलमा १२ हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकहरुको रहेको छ ।

फाईल तस्वीर नेपाल फेस्टिवल २०२२

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १५:२२