१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

नुवाकोट त्रिशूली महोत्सव अाजदेखि

२ पुस, नुवाकोट । नुवाकोट त्रिशूली महोत्सव सोमबारदेखि सञ्चालन हुने भएको छ । नुवाकोट, रसुवा र धादिङकै सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

‘विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा, कृषि, पर्यटन तथा व्यापार महोत्सव’ भने मूल नाराका साथ गरिने महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटन र ऐतिहासिक पहिचानलाई थप विस्तार गर्न मद्दत पुग्ने आशा गरिएको छ । शिक्षा क्षेत्रको विकासमा योगदान गर्न यति ठूलो महोत्सवको आयोजना गरिएको जिल्लामै यो पहिलो पटक हो । विद्यालयले आवश्यक आर्थिक स्रोत जुटाउन पुस १० गतेसम्म महोत्सव चल्नेछ ।

विदुर नगरपालिका वडा नं १ स्थित सो विद्यालयले शुरु गरेको इञ्जिनीयरिङ विषयको पठनपाठनका लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो । विसं २००७ मा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो ।

विद्यालयमा अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)अन्तर्गत तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको पढाइ भइरहेको छ । विद्यालयमा अध्ययनका लागि ४८ विद्यार्थीको दरबन्दी भए पनि अनुमति लिन ढिला भएकाले २४ विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक महेन्द रावतले बताउनुभयो ।

सेमेष्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी रु २ लाख मात्र शुल्क लिइने भएकाले अपुग रकमका लागि महोत्सव गर्न लालिएको विद्यालयले जनाएको छ । सिभिल इञ्जिनीयरिङको पठनपाठन लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न महोत्सव गर्न लागिएको शिक्षक राजेन्द्र दवाडीले बताउनुभयो । महोत्सवमा स्थानीय मौलिक कला, संस्कृति र ऐतिहासिक महत्व झल्काउने वस्तु र प्रस्तुति आकर्षणका रुपमा रहनेछन् ।

प्रकाशित मिति : २ पुष २०७५, सोमबार ०६:००