सौताको रीसले आफ्नै सन्तानलाई जलाएर मार्ने कस्ती आमा ?
५ चैत, रामेछाप । रामेछापमा आइतवार सौता र श्रीमानको रिसले आफ्नै सन्तानलाई आगो लगाई एक आमाले अनफ्नै दुई सन्तानको हत्या गरेकि छिन् ।
जिल्लाको खाँडादेवी–६, माकादुम पन्नेचौरकी दीलबहादुर खत्रीकी जेठी श्रीमती २५ वर्षीया तारा केसीले आइतबार आफू बस्दै आएको कटेरोमा आगो लगाएर २ छोराछोरीको ज्यान लिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक राजकुमारले घटनाको पुष्टि गर्दै आमाले लगाएको आगोमा परी ४ वर्षीय छोरा विपिन खत्री र २ वर्षकी छोरी रमिता खत्रीको जलेर मृत्यु भएको जानकारी दिए ।
आगो लगाउने तारा केसी पनि आगलागीमा परी सामान्य घाइते भएकी छिन् । प्रहरीले घटनालगत्तै केसी र उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
पतिले कान्छी ल्याएपछि छुट्टै बसोबास गर्दै आएकी ताराले प्रहरीसँगको बयानमा पतिले अर्की पत्नी ल्याई आफूलाई हेला गरेका र छोराछारीसहित प्राण त्याग गर्न कटेरोमा आगो लगाएको वयान दिएकी छन् ।
आगो लगाउने तारा पति दिल बहादुर खत्री र उनकी कान्छी पत्नी बसेको स्थानभन्दा १ सय मिटर पर बाँसको टहरो बनाएर एक छोरा र एक छोरीका साथमा बस्दै आएकी थिइन् ।
प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १२:२०












