१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

माओवादी सुदूरपश्चिम प्रदेश परामर्श बैठक धनगढीमा

१२ भदौ, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश परामर्श बैठक आजदेखि धनगढीमा सुरु भएको छ ।

बैठकमा सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको पार्टीका सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेललगायत केन्द्रीय पदाधिकारीको सहभागिता रहेको छ ।

यही भदौ १३ गतेसम्म सञ्चालन हुने बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबाट सुझाव सङ्कलन गरिने प्रदेश सचिव बुढाले जानकारी दिनुभयो । माओवादी केन्द्रको गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच छलफल गर्नका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशको बैठक बसेको सचिव बुढाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार १६:१६