पेवा बिक्री गरी बालगृहलाई ४० लाख दान
५ चैत, लमजुङ । लमजुङको एक बालगृहलाई आफूले पाएको पुख्र्यौली पेवा बिक्री गरी सानुमाया गुरुङले रु ४० लाख भन्दा बढी रकम दान गरेकी छन् । बेसीशहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रद्वारा सञ्चालित बालगृहमा अक्षयकोष स्थापनार्थ सो सहयोग गरेकी हुन् ।
संस्थाकी अध्यक्षसमेत रहनुभएकी बेसीशहरकी सानुमाया गुरुङले संस्थापक अध्यक्ष स्व लेखनाथ अधिकारीको पाँचाँै स्मृति दिवसको अवसरमा आइतबार उनले सो रकम प्रदान गरेकी हुन् ।
अभिभावक नभएका कुनै पनि बालबालिका बाल अधिकारबाट वञ्चित नहोऊन भन्ने सोच गुरुङको रहेको छ ।
गुरुङसँगै स्थायी घर गिलुङ भई हाल पोखरा बस्ने राधादेवी घलेले रु १० हजार एकसय, बेसीशहर–८ निवासी पार्वती श्रेष्ठले स्वर्गीय श्रीमान् नन्दमान श्रेष्ठको सम्झनामा रु १० हजार १११ र हाल पोखरी बस्ने उस्ताकी वर्तामाया घलेले रु १० हजार १०० सहयोग प्रदान गरेका थिए । २०६० सालबाट सञ्चालन गरिएको उक्त बालगृह हाल मुट्ठीदानबाट सञ्चालनमा रहेको छ ।
प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १०:४६












