पम्फा भुसालले पनि फिर्ता गरिन घरभाडा, संसदका कर्मचारीले झुक्याएको अारोप
१ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले पनि नियमविपरित लिँदै अाएको घरभाडा वापतको रकम फिर्ता गर्ने भएकी छिन । उनले ९ महिनाको घरभाडा वापतको पैसा अाफ्नो तलबबाट कटाउन संसद सचिवालयका कर्मचारीलार्इ अाग्रह गरेको विज्ञप्ति मार्फत जानकारी दिएकी छिन । उनले ९ महिनाकाे भाडा एकमुष्ठ ९० हजार रुपैँया तलबबाट कट्टा गर्न संसद सचिवालयलाई अाग्रह गरेकी छिन ।
खाेजपत्रकारिता केन्द्रले काठमाडाैँमा घर भएर पनि घर भाडा लिने सांसदहरुकाे सूची सार्वजनिक गरकाे थियाे । कान्तिपुरका संवदादाता मकर श्रेष्ठले खोजपत्रकारिता केन्द्रका लागि तयार पारेको उक्त समाचार दैनिकी डट कम लगायत धेरैसञ्चार माध्यममा प्रकाशित भएको थियो । समाचारपछि अाफू अचम्ममा परेकाे भन्दै नेतृ भुसालले संसदका कर्मचारीका कारण यस्तो हुन गएको बताएकी छिन ।
भुसालको विज्ञप्ति यस्तो छ
प्रेस विज्ञप्ति
काठमाडौं उपत्यकामा घर भएर भाडा लिएका सांसद्को सूचीमा मेरो समेत नाम आएकोमा म आश्चर्यमा परेको छु । संसद् सचिवालयमा मेरो घर भएको उल्लेख गरेको हुँ ।
राजनीतिलाई मैले निस्ठापूर्वक गरिने सामाजिक सेवाको रुपमा लिएको छु र तदनुरुप चार दशकदेखि क्रियाशील छु । यसैले आर्थिक अनुशासनका बारेमा आफूसँग जोडेर उठ्ने उठाइने प्रश्नले मलाई धेरै नै गम्भीर बनाउने गर्दछ ।
संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी पनि भएन । जानकारी पाएपछि संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु ।
संसद् सचिवालयको अभिलेख राख्ने सन्दर्भमा भएको कमजोरीले होस् या आफ्नै असावधानीका कारण भएको कमजोरीले किन नहोस् यसबारेमा प्रश्न उठाउने मिडियाकर्मी र मिडियालाई विशेष धन्यवाद दिन चाहन्छु ।
पम्फा भुसाल
प्रतिनिधि सभा सदस्य
ललितपुर क्षेत्र नम्बर ३
२०७५/०९/०१
प्रकाशित मिति : १ पुष २०७५, आईतवार १९:५४