१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

एडिलेडमा भजन कीर्तन सहित श्रीकृष्ण जन्माष्टमी मनाईदै

एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको आयोजनामा अगष्ट २६ सोमबार दिनको २ बजेबाट कृष्ण जन्माष्टमीको उपलक्ष्यमा भजन कीर्तन सहितको पुजा आराधना कार्यक्रम हुने भएको छ ।

समुहका अध्यक्ष खगेन्द्र सापकोटाका अनुसार स्थानिय कोसग्रोभ हल कोलोभेली पार्कमा कार्यक्रम आयोजना हुने भएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । र सोहि तिथिलाई श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेल सहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

समुहका सचिव शिव काफ्लेले एडिलेडमा २०१८बाट श्रीकृष्ण जन्माष्टमी र शिवरात्रिमा भजन कीर्तन सहित पुजा कार्यक्रम गर्दै आएको बताउदै यस बर्ष पनि विगत बर्षहरुमा जस्तै पुजा तथा कीर्तन पछि नेपाली परम्परागत प्रसाद वितरण गरिने बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १८:५३