१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सहरमा बंगलादेशको हावा चल्न थालेको छ भ्रष्टाचारीको संरक्षण गरिरहे जनताले लखेट्छनः पूर्वमन्त्री पुन

४ भदौ, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिंडेको टिप्पणी गर्नुभएको छ ।

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै पुनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरु हाँस्ने गरेको बताउनुभयो ।

‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरुलाई राखेर यसो भनेको सुन्दा मानिसहरु हाँस्ने गर्छन् । मान्छेहरु भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’ उपमहासचिव पुनले भन्नुभयो ।

आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात काँग्रेस–एमालेबीच सहमति गरिएको आरोप उहाँले लगाउनुभयो । उहाँले भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्यासित रुपमा काँग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गर्नुभयो ।

माओवादी सशस्त्र जनयुद्ध, ०६२/०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा काँग्रेस–एमालेलाई रुपान्तरण गरियो होला भन्ने आफूहरुको अनुमान पछिल्ला घटनाक्रमहरुले गलत साबित भएको पुनले बताउनुयभो । ‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौं । हामीलाई लागेको थियो उनीहरु यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरु भ्रष्टचार, बेथिती र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् । हामी उनीहरुलाई पुरानै ठाउँमा फर्कन दिँदैनौं । खबरदारी गर्छौं’, पुनले भन्नुभयो । पुनले भ्रष्टचारविरुद्ध र सुशासन कायम गर्न आफूहरुले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने बताउनुभयो ।

फरक प्रसंगमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरु सरकारबाहिर आउनुपरेका कारण नआत्तिएको बताउनुभयो। तर, काँग्रेसकै वरिष्ठ नेताहरु सरकार सय दिन मात्र टिक्ने बताउन थालेको दाबी उहाँको छ । ‘हामीलाई सरकारमा फर्कन हतार छैन’, पुनले भन्नुभयो, ‘काँग्रेसकै वरिष्ठ नेताहरु सरकार सय दिन जाला भन्न थाल्नुभएको छ ।’

सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्व र बिचौलियाहरुको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी दिनुभयो । पुनले बंगलादेशको राजनीतिक हावा काठमाडौंसहित देशका ठूला सहरमा चल्न थालेको भन्दै आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ०८:१३