चार वर्षपछि भूमिहिन र सुकुम्वासीको नाममा गुनासो नअाउने गरी काम हुँदैछः मन्त्री अर्याल
२९ मंसिर, बर्दिया । भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले एउटा शक्तिशाली अायाेग बनाएर भूमिहिनकाे समस्या समाधान गरिने बताउनु भएकाे छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालय बर्दियामा भूमिअधिकारका लागि क्रियाशिल विभिन्न संस्थाका प्रतिनिधि र मुक्त कमैयासहितकाे संयुक्त अन्तरक्रियामा मन्त्री अर्यालले विगतमा टेवुल अायाेगहरु बनेकाे भन्दै अब फिल्डमै अाएर समस्या समाधान गर्ने अायाेग बनाएर सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयाे ।
उहाँले अागामी चार वर्षपछि कसैले हाम्राे याे समस्या छ भनेर सुनाउनै नपर्नेगरी काम गर्न लागिएकाे बताउनुभयाे । मन्त्री अर्यालले भूमिहिन, सुकुम्वासी र मुक्त कमैयाको न्यायका लागि अाफूले गर्नुपर्ने सबै काम गर्ने दृढता व्यक्त गर्नुभयो ।
शनिबार नै मन्त्री अर्यालले नेपाल कम्युनिष्ट पार्टी बर्दियाको कार्यालयमा भूमिहिन र सुकुम्वासीसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै सरकारले काम गरिरहेको र त्यसमा साथ दिन अाग्रह गर्नुभयो । तीन तहको सरकारका साझा अधिकारका विषयमा क्लियर हुन र सोही अनुसारका एेन कानुन बन्न केही समय लाग्ने भएकाले त्यस समयसम्म धैर्य गर्न अाग्रह गर्नुभयाे ।
मन्त्री अर्यालले वर्तमान केपी अोली नेतृत्वको सरकारले नेपाली जनताको जीवनस्तर उकास्न र समग्र नेपालको विकासमा कायापलट गर्ने दाबी गर्नुभयो ।
यस्तै मन्त्री अर्यालले शनिबारकै दिन भए पनि मालपोत र नापी कार्यालयको अनुगमन गरी सेवाप्रवाहमा चुस्तता ल्याउन अाग्रह गर्नुभयो । उहाँले जनताको काम छिटोभन्दा छिटो सहज तरिकाले सम्पन्न गर्न कर्मचारीलार्इ निर्देशन पनि दिनुभयो ।
प्रकाशित मिति : २९ मंसिर २०७५, शनिबार १८:५१