९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

टान निर्वाचनः कांग्रेस र एमाले निकटका व्यवसायीको साझा प्यानल घोषणा

१ भदौ, काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेको गर्नुभएको छ । शनिबार काठमाडाैँको ठमेलमा एक कार्यक्रम गरी सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको हो ।

टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति चयन हुँदैछ । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट  वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गर्नुभयो । साथै महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदावरी घोषणा गर्नुभएको छ ।

समूहका तर्फबाट कार्यसमिति सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा र पवित्रा तामाङले उम्मेदवारी घोषणा गर्नुभयो ।

अध्यक्षका प्रत्यासी सापकोटाले पदमार्ग संरक्षण, त्यससम्बन्धी नीतिगत सुधार आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो । “पदयात्रा व्यवसाय विकासको दीर्घकालीन सोचसहित नीतिगत सुधार पहिलो प्राथमिकता हुनेछ”, उहाँले भन्नुभयो, “पदमार्ग नै नभए व्यवसाय सङ्कटमा पुग्ने खतरा छ, विकासका नाममा मासिँदै गएका पदमार्गको संरक्षणमा कटिबद्ध भएको लाग्नेछु ।”

टानको महासचिव पदका प्रत्यासी राजेन्द्रप्रसाद सुवेदीले पदमार्ग संरक्षण र नयाँ गन्तव्य प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्ने पनि बताउनुभयो ।

कार्यक्रममा टानका अध्यक्ष नीलहरि बास्तोलाले पदयात्रा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको बताउनुभयो । टानका पूर्वअध्यक्ष चन्द्रप्रसाद रिजालले व्यवसायमैत्री टान र पदयात्राका समस्या समाधानमा नयाँ नेतृत्व सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ । सत्तारूढ पार्टी नेपाली कांग्रेस, नेकपा एमलाे र शेर्पा पर्यटन व्यवसायी संघको तर्फबाट सापकोटा साझा उम्मेदवारको रूपमा प्रस्तुत हुनुभएको छ । टिम पनि सोही अनुसार तयार भएको छ । सापकोटा प्यानलको घोषणापत्र यस्तो रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार २२:२४