९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

पर्यटन क्षेत्रको सम्भाव्यता प्रति हामी सबै विदितै छौँ: उड्डयनमन्त्री पाण्डे

३१ साउन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा विकास गर्न पहल भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरिमा) ले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले होटललाई उद्योगको मान्यता दिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक हवाई भाडादरमा एकरुपता कायम गर्ने विषय महत्वपुर्ण भएकाले यसलाई सरकारले प्राथमिकतामा राखेर सरोकार भएकासँग छलफल अगाडि बढाइसकेको बताउनुभयो ।

स्वदेशी र विदेशी पर्यटकका लागि हवाई टिकट मूल्यको एकरुपता कायम गर्न छलफल जारी रहेको जनाउँदै छलफलबाट यथाशीघ्र परिणाम लिएर कार्यान्वयन गरिने पर्यटनमन्त्री पाण्डेले विश्वास व्यक्त गर्नुभयो । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट ‘रोड सो’ सहित प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको उहाँले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयले नेपालको संविधान, सोह्रौँ योजना, नागरिक उडड्यन क्षेत्रसँग सम्बन्धित कानुनहरु, क्षेत्रगत नीति, नेपालको राष्ट्रिय पर्यटन रणनीतिक गुरुयोजना (२०१६–२०२५) का आधारमा पर्यटकीय गन्तव्यहरुको विकास विस्तार तथा पहिचान, पदमार्गहरुको निर्माण, पर्यटकीय उपजहरुका बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु निरन्तर रुपमा कार्यान्वयन गर्दै आएको पर्यटनमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन विभागबाट ती गन्तव्यहरुमा पूर्वाधार निर्माण थालिएको तथा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

“पर्यटन क्षेत्रको सम्भाव्यता प्रति हामी सबै विदितै छौँ । यस क्षेत्रमा बजेट पर्याप्त हुन नसकेको सत्य हो । पर्यटन रणनीतिक योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सातवटा प्रदेशलाई लक्षित गरेर ‘सात प्रदेश सात गन्तव्य’ कार्यक्रम, ‘इको हिल टुरिज्म’ लगायत पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु यो वर्षको बजेटमा समावेश गरिएका छन्”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो ।

खप्तड क्षेत्र पर्यटन विकासको मुख्य आधार तथा पर्यटकको मनोरम गन्तव्य भएको उल्लेख गर्दै मन्त्री पाण्डेले यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले विभिन्न पूर्वाधार विकास गर्न लगानी गरिरहेको बताउँदै पूर्वाधार निर्माणमा रकम विनियोजन गरी खप्तड क्षेत्र कोष स्थापना गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १७:०५