१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

विनोद चौधरीले कांग्रेस केन्द्रीय समितिमा भने- निजी क्षेत्र निराश र त्रसित छ

२८ साउन, काठमाडाैँ । केन्द्रीय समिति बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले निजी क्षेत्र निराश र त्रसित रहेको बताउनुभएकाे छ ।

कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भविष्यको नेतृत्व गर्दैछ भन्ने कुरामा पनि अन्योल देखिएको बताउनुभयाे ।

चाैधरीले  ८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला अत्यन्तै निराश र त्रसित रहेकाे बताउनुभयाे ।

‘नयाँ सरकार बनेसँगै अब राजनीतिक स्थायित्व हुन्छ कि भन्ने आशा पलाएका र लामो अस्थिरताको चक्रब्यूहबाट देश बाहिर आएको भन्ने दृष्टिकोणबाट जनताले लिएका छन् । एमाले र कांग्रेसबीच भएको सहमतिले सरकार अगाडि बढ्यो र हाम्रा अन्तरविरोध हटाउन सकियो भने यो मुलुककै लागि खुसीको समय हुने छ । त्यसको लागि अर्थतन्त्रलाई राजनीतिको केन्द्रविन्दु बनाउनु पर्छ’, वाहाँले भन्नुभयाे ।

‘बर्षमा डेढ लाखभन्दा बढी विद्यार्थी देश बाहिरिने गर्छन् । जसबाट डेढ खर्बभन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिने गरेको छ। विद्यार्थीहरू विदेश जाने बेलामै नफर्किने मानसिकता बोकेर जान्छन् र त्यहाँ उनीहरूले कस्तो शिक्षा गरिरहेका छन् त्याे पनि थाहा छैन,’ चौधरीले भन्नुभयाे ।

कांग्रेसको आर्थिक नीति र दृष्टिकोण के हो भन्ने कुरा प्रष्ट नभएको पनि चाैधरीले बताउनुभयाे ।

नेपाल विकासको खाका के हो, मल नपाउने किसान, बेरोजगार युवाहरू, निराश जनता, उद्योगधन्दा चलाउनै नसक्ने परिस्थितिबाट गुज्रिरहेका उद्यमी व्यवसायीहरुका अगाडि कस्तो नेपालको खाका पस्किने हो भन्ने पनि प्रष्ट पार्न पार्टी तथा सरकारलाई चाैधरीले आग्रह गर्नुभएकाे छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १४:१९