७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

नुवाकोट दुर्घटनाः घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सांसद मैनालीको अाग्रह

२८ मंसिर, नुवाकोट । नुवाकोट मिनिट्रक दुर्घटनाप्रति नेकपाका नेता एवं नुवाकोट क्षेत्र नम्बर १  क का सांसद बद्री मैनालीले दुःख प्रकट गरेका छन । दुर्घटनाको खबर लगत्तै पार्टीका नेता कार्यकर्ता र सुरक्षा निकायलार्इ उद्धारमा विशेष ध्यान दिन र घाइतेको उपचारमा अा–अाफ्नो ठाउँबाट सहयोग गर्न निर्देशन दिँदै दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन ।

सांसद मैनालीले घाइतेको उद्धार गरी काठमाडाैँ ल्याइदै गरेको जानकारी दिए । उनले घाइतेको त्रिवि शिक्षण अस्पताल लगायतमा लगिने बताए । सांसद मैनालीले घटनास्थलबाट घाइते उठाउन एम्बुलेन्स तत्काल व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलार्इ निर्देशन समेत दिएका छन ।

उनले पार्टीका स्थानीय नेता कार्यकर्ताले घाइतेको उद्धारमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै धन्यवाद समेत दिएका छन । सांसद मैनालीले उपचारका लागि काठमाडाैँ ल्याउँदै गरेका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न समेत सरकारको ध्यानाकर्षण गराएका छन ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ बा३ ख ३९१३ नम्बरकाे मिनिट्रक दुर्घटनामा मृत्यु भएका १७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले घटनास्थलमा १७ जनाको शव संकलन गरिएको र अन्यको खोजी भैरहेको दैनिकीलार्इ जानकारी दिए ।

गाडी व्याक गर्नेक्रममा भीरबाट झण्डै एक हजारमिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाको तामाङ युवा संघका संयोजक लालबाबु तामाङले बताएका छन । उनले दुर्घटनामा ३० जना भन्दा बढीको मृत्यु भएकोयसअघि नै बताएका थिए ।  अफ्ठेरो भीरमा दुर्घटना भएको र भीरमा शव छरपस्ट भएकाले शव संकलनमा समस्या भएको प्रहरीले जनाएको छ । गाडीले थिचेका केहीको शव निकाल्न सकिएको छैन ।

दुर्घटनामा ११ जनालार्इ घाइते अवस्थामा उद्धार गरिएको स्थानीय महेन्द्र तामाङले दैनिकीलार्इ जानकारी दिए । उनले घाइते अवस्थामा उद्धार गरिएका दुर्इ जनाको भीरबाट सडकमा उकाल्ने क्रममै मृत्यु भएको र अन्यको अवस्था पनि चिन्ताजनक रहेको बताए । गम्भीर अवस्थाका ७ जनालार्इ उपचारका लागि काठमाडाैँतर्फ पठाइएको उनले जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिकाको वडा नं ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खान आएका स्थानियहरु घ्यावा खाएर फर्कदा गाउँपालिकाको सावकको वडा नं ४ को घ्याङडाँडाँबाट खसेको थियो । गाडीमा ४१ जना यात्रु सवार रहेकोमा अन्यको पहिचान खुल्न सकेको छैन् । स्थानीयले रातको समयमा भीरमा शव छरिएकाले भेटाउन मुस्किल भएको बताएका छन । दुर्घटनामा एक जनाले भने हामफालेर ज्यान बचाएका छन ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार २१:४३