८ माघ २०८१, मंगलवार | Wed Jan 22 2025

बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

२७ साउन, बागलुङ । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लाग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाउनुभएको छ । उहाँले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ ।

सानो घरमा चार कोठाबाट व्यवसाय थाल्नुभएका उहाँले व्यवसाय बढाउनुभएको छ । उहाँको होटलमा २४ कोठा छन् भने लगानी बढेर रु दुई करोड पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधासम्पन्न होटल सञ्चालन गर्न थालेका छन् ।

रातमाटाबाट देखिएको बागलुङ बजार र आसपास क्षेत्र । बागलुङको धार्मिक पर्यटकीय गन्तव्यस्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटक आउन थालेपछि चहलपहल बढेको छ । तस्बिरः  डम्मर बुढामगर, रासस

बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् । जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटलको आवश्यकता परेको उद्यमी कुँवर बताउनुहुन्छ । उहाँले जिल्लामा तारेहोटल आवश्यक भएको बताउनुभयो । विसं २०६५ देखि बागलुङमा होटल व्यवसाय गर्दै आउनुभएका अर्जुन चोखालले होटल व्यवसायमा रु चार करोड लगानी गरिसक्नुभएको छ ।

कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयजस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार ०८:५४