१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

बीउ उत्पादन विस्तार गर्दै सहकारी

२३ साउन, टीकापुर । कैलालीको जानकी–४ मुनुवास्थित बीजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादन विस्तार गर्दै गएको छ । सहकारीसँग अहिले सयौँ किसान बीउ उत्पादनका लागि आबद्ध छन् । सहकारीका आफ्नै शेयर सदस्य किसान एक सय पाँच छन् । विगतमा सहकारीका शेयर सदस्य ६५ थिए । यसरी सहकारीमा आबद्ध किसानलाई आफ्नो उत्पादन बिक्री गर्न समस्या छैन । बीउ उत्पादनका लागि मेहनत गर्नुपरे पनि आम्दानी बढ्नाका साथै मूल्य पाउने भएपछि त्यस क्षेत्रका किसान बीउ उत्पादनमा जोडिन थालेको स्थानीयको भनाइ छ ।

सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीले धान, गहुँ, मकै, मसुरो र तोरीको बीउ उत्पादन गर्ने गरेको छ । सहकारीसँग यस वर्ष तीन हजार क्विन्टल गहुँ, ६० क्विन्टल तोरी, ३० क्विन्टल मकै भण्डारण छ । सहकारीले तीन हजार क्विन्टल धानको बीउ बिक्री गरेको थियो । सुरुमा पोका ल्याएर बीउ उत्पादन र बिक्री सुरु गरेको सहकारी बीउ उत्पादनमा नमूना सहकारीका रुपमा स्थापित भएको छ । सहकारीले गत वर्ष दुई हजार पाँच सय क्विन्टल धान, ३० क्विन्टल तोरी, १० क्विन्टल मकै र तीन हजार क्विन्टल गहुँको बीउ बिक्री गरेको थियो ।

सहकारीले बीउ उत्पादनका लागि क्षेत्र विस्तार गरेको छ । स्थापनाकालमा जानकी–४ र ७ का किसान मात्र आबद्ध थिए । उनीहरुले उत्पादन गरेको बीउ देशका विभिन्न स्थानमा बिक्री हुन थालेपछि सहकारीले शेयर सदस्य मात्र नभई अन्य पालिकाका किसानलाई समेत बीउ उत्पादनमा समेटेको छ । जोशीपुर, भजनी, बर्दगोरिया गाउँपालिकाका किसानलाई समेत बीउ उपलब्ध गराउने र बीउ खरिद गर्ने गरेको छ ।

सहकारीले सबैको बीउ बराबरी मूल्यमा खरिद गर्ने गरेको छ । व्यवस्थापक रावतले सहकारीले बजार दर वा सरकारले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल रु तीन सय बढीमा खरिद गर्ने गरेको बताउनुभयो । “सहकारीले बीउ बिक्री गर्दा पनि न्यूनतम मूल्यमा उपलब्ध गराउने गरेको छ”, व्यवस्थापक रावतले भन्नुभयो, “सहकारीले आफूले उत्पादन गरेको बाहेक प्रजनन बीउ धनुषा, भैरहवा र सर्लाहीबाट ल्याउने र किसानलाई वितरण समेत गर्ने गरेको छ ।”

सहकारीमार्फत बीजवृद्धिमा लागेका किसान धान र गहुँखेतीमा बढी आकर्षित छन् । विसं २०६२ मा स्थापना भएको सहकारीमा आठजना कर्मचारी छन् । यहाँ उत्पादन भएको बीउ सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, पहाडी जिल्ला, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका जिल्लामा समेत जाने गरेको छ ।

सहकारीसँग पाँच भण्डारण घर छन् । दुई सय र एक सय आठ मेट्रिक टन क्षमता भएका एक÷एकवटा, ५० मेट्रिक टन क्षमता भएको दुईवटा गरी चारवटा बीउ भण्डारण घर छन्भने  एउटा  ५० मेट्रिक टनको मल राख्ने गोदामघर छ । बीउ प्रशोधन गर्ने दुईवटा ग्रेडिङ मेसिनसमेत छन् । प्रतिघण्टा तीन मेट्रिक टन क्षमताको एक र अर्को एक मेट्रिक टन क्षमताको मेसिनबाट बीउ प्रशोधन गर्ने गरिएको छ ।

विगतमा उत्पादनको उचित मूल्य पाउन समस्या भएका किसान सहकारीले थप मूल्य दिन थालेपछि खुसी भएका छन् । किसान कमल कठरियाले उत्पादनको बजार खोज्न नपर्ने र उचित मूल्य पाइने गरेको बताउनुभयो । “सरकारी निकायले पनि प्रविधिमा सहकारीलाई सघाएको छ”, कठरियाले भन्नुभयो, “सहकारीमा थप किसान समेट्न आवश्यक छ ।” २०५१ सालमा २५ जना किसानले बाली विकास समूह गठन गरी कृषि कार्यको सुरुआत गरेका हुन् । २०५३ सालमा अर्को एउटा सघनबाली विकास समूह गठन भयो । यी दुई समूह एकीकृत भएर २०६२ सालमा बीजवृद्धि कृषक सहकारीका रुपमा काम थालेको हो । सहकारीले बीउ उत्पादन भने २०५७ सालबाटै सुरु गरेको थियो । एक सय पाँचजना शेयर सदस्य रहेको सहकारीमा ३२ महिला र ७३ पुरुष किसान छन् । सहकारीमा एक सय ५० जना बीउ उत्पादक किसान आबद्ध छन् । सहकारीले बीजवृद्धिसँगै बचत सङ्कलनसमेत गर्ने गरेको छ । रु १९ लाख ९८ हजार पाँच सय शेयर पुँजी रहेको सहकारीको बचत सङ्कलन रु १२ लाख २९ हजार नौ सय ५० रहेको छ ।

सहकारीका अध्यक्ष रामफल बडायकले स्थानीय स्तरमा बालीहरुको गुणस्तरीय बीउ उत्पादन गर्ने, उन्नत बीउको माध्यमबाट बालीहरुको उत्पादकत्व बढाउने उद्देश्यअनुरुप सहकारीले काम गरिरहेको बताउनुभयो । “बीउ प्रशोधन, प्रमाणीकरण, भण्डारण तथा  बजारीकरण गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “जसले सदस्यहरुको आर्थिक एवं सामाजिक स्तर उठाउन सहयोग गरेको छ । गुणस्तरीय बीउ उत्पादनमार्फत खाद्य सुरक्षामा वृद्धि गरिरहेको  र आपत्मा परेको बेला सहकारी सदस्यहरुलाई आर्थिक सहयोग गर्ने गरिएको छ ।”

सहकारीले बीजवृद्धिमा धान, गहुँ, मकै, मसुरो, तोरी, भिण्डी र आलुको बीउ उत्पादन गर्ने गरेको छ । यसका साथै बचत सङ्कलन, बीउ उत्पादक कृषकहरुलाई ऋण प्रदान, रासायनिक मल बिक्री वितरण र विभिन्न बालीको बीउ उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १२:५८