९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप

२३ साउन, काठमाडौँ ।  चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित  केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा प्रदान गर्दै आएको थियो ।

यसका लागि चन्द्रागिरि नगरपालिका र रक्त सञ्चार सेवा केन्दबीचको द्विपक्षीय सम्झौता थप गरिएको छ ।
नगर प्रमुख घनश्याम गिरी र केन्द्रका निर्देशक पवनकुमार गुप्ताले  द्विपक्षीय सम्झौतापत्रमा हालै हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि उपस्थिति  थियो ।  उक्त सम्झौताअनुसार चन्द्रागिरिवासीले आवश्यकता पर्दा नेपाल रेडक्रसको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका शाखाअन्तर्गत सञ्चालित  रक्त सञ्चार सेवा केन्द्रमार्फत पनि  निःशुल्क रगतको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

गत दुई वर्षमा करिब दुई सय नगरवासीले उक्त निःशुल्क रगतको सुविधा प्राप्त गरेका थिए ।  यसैगरी  नगरपालिकाअन्तर्गत सामाजिक सङ्घसंस्था, क्लब वा समूहले नेपाल रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गर्दा नगरपालिकाले उक्त संस्थालाई  कार्यक्रम संयोजनबापत प्रतिरक्तदाता रु दुई सय पनि उपलब्ध गराउने छ ।

नगरपालिकाले नेपाल रेडक्रससँगै मेट्रो रक्त सञ्चार सेवासँग पनि नगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । नगरवासीहरुलाई आवश्यकता पर्दा यी दुई निकायहरुबाट आवश्यकता परेका समयमा निःशुल्क रगतको सुविधा लिन नगर प्रमुख गिरीले उक्त कार्यक्रममार्फत आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीसमक्ष पु¥याउन नगरपालिकाले उच्च प्राथमिताका साथ काम गरिरहेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्झौतासँगै निःशुल्क रगत प्राप्तिका लागि थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।  निःशुल्क रगतसम्बन्धी थप जानकारीका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिने शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १२:४७