२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

बाढी र पहिरोमा परेर ११ जनाको मृत्यु

२२ साउन, काठमाडौँ । विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्युभएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको छ । हिजोसम्म एक सय ५४ जनाको मृत्यु भएको थियो ।

आज बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबाहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपद्मा परी आजसम्म एक सय ९८ जना घाइते भएका छन् भने एक सय ५१ जना बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता कार्कीले आज मात्रै थप चार जना बेपत्ता भएका जानकारी दिनुभयो । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ५९ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार २१:४५