२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

इरानलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको फाइनलमा

२२ साउन, काठमाडौँ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दास्रो सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको हारको बदला लिँदै नेपालले इरानविरुद्ध शानदार जित दर्ता गर्‍यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले इरानलाई २५-२१ ले पराजित गर्‍यो । इरानसँग १-५ ले पछि परेको अवस्थाबाट लगातार पाँच अङ्क जोडदै नेपालले अग्रता लिएको थियो ।

खेलको दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय १५-९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१-२४ ले पछि परेको थियो । त्यसपछि नेपालले लगातार तीन अङ्क जोड्दै खेललाई बराबरीमा ल्यायो र अन्ततः नेपालले इरानमाथि २८-२६ को जित निकाल्यो ।

खेलको तेस्रो सेट भने नेपालले २५-२० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितमा नेपाल अङ्क तालिकाको दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । यसअघि भएको लिग चरणको दोस्रो खेलमा इरानले नेपाललाई ३-२ को सेटमा पराजित गरेको थियो । सोही हारको बदला लिँदै नेपालले प्रतियोगिताको फाइनमा भारतसँगको भेट पक्का गर्न सफल भयो ।

लिग चरणको खेलमा नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३-० को सेट र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । लिग चरणमा भारतसँग ३-१ को सेटमा पराजय बेहोरेको भने इरानले श्रीलङ्कालाई ३-२ तथा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो ।

जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले अघिल्ला खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै इरानलाई पराजित गर्न सफल भएको बताउनुभयो । बुधबार हुने फाइनलमा नेपाल भारतविरुद्ध लिगचरणमा निकालेको जितलाई निरन्तरता दिने उद्देश्यका साथ उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्ध यसअघिको जितलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज इरानविरुद्धको खेलमा तीन सेटमा खेलेकाले भोलि पनि तीनै सेटमा भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य लिएका छौँ ।”

आजै भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३-० को सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार २१:४१