नेकपाको बहुप्रतिक्षित स्थायी कमिटीको बैठक भोलि, जिल्ला र जनसंगठनको एकता टुंग्याउने तयारी
२८ मंसिर, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित स्थायी कमिटी बैठक भोलि शनिबार बस्ने तयारी भएको छ । चारभाइ (वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतम)को योजनाबद्ध बैठक बहिष्कारका बीच मंसिर २२ गते बसेको केन्द्रीय सचिवालयको बैठकले यही मंसिर २९ गते बस्नेगरी स्थायी कमिटीको बैठक बोलाएको थियो ।
स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । बैठकले जिल्ला र जनसंगठनको एकतालार्इ अन्तिम टुंगाेमा पुर्याउने अपेक्षा गरिएको छ । यसअघि मंसिर २३ गते जनसांस्कृतिक महासङ्घ नेपालद्वारा जनगायक स्व खुशीराम पाख्रीनको स्मृतिमा अायोजित कार्यक्रममा नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचडले स्थायी कमिटीको बैठकले जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताएका थिए ।

उनले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष दाहालले प्रदेश कमिटीको टुङ्गो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता गर्ने लक्ष्य बनाएको बताएका थिए । प्रचण्डले जनस्तर एवं पार्टीभित्र भावनालाई पार्टीको स्थायी कमिटी बैठकमा एजेण्डा बनाएर लैजाने समेत बताएका थिए ।
प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ०९:५३












