१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले नेतालाई अध्यक्ष ओलीले भने, एमालेमा गुटबन्दी स्वीकार्य छैन

२० साउन, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले भित्र कुनै गुट नभएको र गुटबन्दी स्वीकार्य नरहेको बताउनुभएको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले गलत विचार बोकेर, गलत बाटो हिँडेर, गलत व्यवहार, गलत आचरण गरेर पार्टी अघि नबढ्ने बताउनुभयो । लोकतन्त्रको नाममा पार्टी भित्र गुटबन्दी गरेर कुनै पनि पार्टी उँभो नलाग्ने ओलीले प्रष्ट पार्नुभयो । ‘पार्टी ओरालो लाग्नु छ भने गुटबन्दीको बाटो समाउँछ पार्टीले’, उहाँले भन्नुभयो ।

अरूका पार्टीमा आफूले केही बताउन नचाहे पनि एमालेमा गुटबन्दी स्वीकार्य नभएको ओलीले प्रष्ट पार्नुभयो । उहाँले कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्न नेताहरूलाई निर्देशन गर्नुभयो । ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन, कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य छैन, गुटबन्दी भनेको पार्टीका विरुद्धको कुरा हो’, ओलीले भन्नुभयो ।

नेकपा एमाले विभाजित हुनको पछि पनि त्यही गुटबन्दी कारक बनेको ओलीले बताउनुभयो । ‘लामो समयदेखि गुटबन्दी थियो, या त हामीले गुटबन्दी नियन्त्रण गर्नुपर्थ्यो, सकिएन भने विभाजनमा जानु पर्थ्यो, हाम्रो पार्टी त्यस्तै भयो’, ओलीले भन्नुभयो । ओलीले पार्टीलाई सफल बनाउन र आफू पनि सफल बन्न इमानदारिताको साथ काम गर्नुपर्ने बताउनुभयो । पार्टीमा निष्ठापूर्वक सक्रियताको साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सफलतामा पुग्नु छ भने इमानदारिता चाहिन्छ’, उहाँले भन्नुभयो ।

 जालझेल पक्ष विपक्ष र गुटबन्दी गरेर कोही पनि सफल नहुने उहाँले बताउनुभयो । जालझेल र गुटबन्दीको दायर सानो हुने भएकोले त्यो केही समयमा नै टुट्ने ओलीको भनाइ छ । जत्रो ठुलो भए पनि जालले समुन्द्र समेट्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । नेकपा एमाले सबै खालका षडयन्त्र चिर्दै अहिलेको अवस्थामा आएको ओलीले बताउनुभयो । त्यसैले एमालेले देशमा सुनौलो दिन ल्याएरै छाड्ने ओलीले दाबी गर्नुभयो । सबैको साझा प्रयासबाट देशलाई सफल बनाउनु पर्ने ओलीले धारणा राख्नुभयो ।

ओलीले वर्तमान सरकार कुनै स्टन्टबाजीको लागि नबनेको बताउनुभयो । अहिलेको समीकरण लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने ओलीले प्रष्ट पार्नुभयो ।कांग्रेस र एमालले लोकतन्त्रका लागि कुनै भुलभुलैया वा अफवाह नफैलाउने उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस र एमालेको लोकतन्त्र प्राप्तिको आन्दोलनमा भएको योगदान सबैलाई जानकारी भएको बताउँदै उहाँले त्यसको लागि कुनै स्टन्टबाजी गर्न आवश्यक नरहेको बताउनुभयो । ‘स्टन्टबाजी पनि गर्दैन, कसैलाई झोक्याउने खेल पनि खेल्दैन’, उहाँले भन्नुभयो ।

देश र जनताको आवश्यकताको आधारमा संविधान संशोधन गरिने बताउँदै ओलीले संविधान संशोधन कांग्रेस र एमालेको संयुक्त एजेणडा भएको बताउनुभयो । संविधान संशोधन अग्रगमन र देशको राजनीतिक अस्थिरताको निकासका लागि हुने पनि उहाँले प्रष्ट पार्नुभयो । ‘लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १९:५४